सर्वदलीय बैठकमा ओली र कांग्रेस नेता लेखकबीच चर्काचर्की

२०७९ माघ ३, मंगलवार २०:१६ बजे

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आह्वान गरेको सर्वदलीय बैठकमा नेकपा एमाले र नेपाली कांग्रेसबीच चर्काचर्की परेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित बैठकमा सहभागी एक नेताका अनुसार एमाले अध्यक्ष केपी ओली र कांग्रेसका मुख्य सचेतक रमेश लेखकबीच विवाद भएको हो ।

अध्यक्ष ओलीले कांग्रेसमाथि सत्तारुढ गठबन्धनभित्र खेल्न खोजेको आरोप लगाएपछि लेखकले उनको प्रतिवाद गरेका थिए । ओलीको भनाई उद्धृत गर्दै ती नेताले भने, ‘सत्ता गठबन्धनमा तलदेखि माथिसम्म कसरी जाने भन्ने हाम्रो सहमति भइसकेको छ । तर सबैतिर विश्वासको मत दिइरहनु भएको छ । सत्ताको लागि नखेल्नुहोस् । तपाईँहरू त प्रतिपक्ष पनि बन्न सक्नुभएन ।’

जवाफमा लेखकले आफूहरू प्रतिपक्ष नै रहेको स्पष्ट पारेका थिए । ‘राष्ट्रपतिलाई बुझाएको पत्रमा हाम्रो हस्ताक्षर छैन । त्यसैले हामी प्रतिपक्ष नै हौँ । हामीले खेलिरहेका छैनौँ बरु राष्ट्रिय सहमतिको पक्षमा छौँ । संविधान बचाउन र मुलुकको आवश्यकताअनुसार विश्वासको मत दिएका हौँ,’ लेखकले जवाफ दिएका थिए ।

चर्काचर्कीपछि बैठक जारी रहेकै बेला अध्यक्ष ओली बैठक स्थलबाट बाहिरिएका थिए ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार