माधव नेपाल र उपेन्द्र यादवले भेटे देउवालाई

२०७९ माघ ४, बुधबार १०:३६ बजे

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन्। आज बिहान कांग्रेस पदाधिकारी बैठक बस्नुभन्दा पहिले अध्यक्ष नेपाल र यादवले सभापति देउवासँग उनकै निवास धुम्बाराहीमा कुराकानी गरेका हुन्।

उनीहरूले सभामुख निर्वाचनलगायत समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी गरेका छन्। सभामुख पदका लागि आज दिउँसो १ बजेदेखि अपरान्ह ४ बजेसम्म मनोनयन दर्ता र बिहीबार निर्वाचनको कार्यक्रम छ। उनीहरूबीच समामुख निर्वाचनमा मिलेर जाने विषयमा पनि कुराकानी भएको स्रोतको भनाइ छ।

गत पुस २६ गते कांग्रेस, एकीकृत समाजवादी र जसपाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिए पनि यी दल सरकारमा भने सहभागी भएका छैनन्। प्रतिनिधि सभामा कांग्रेसका ८९, जसपाका १२ र एकीकृत समाजवादीका १० सांसद छन्। दिनअघि बसेको कांग्रेस पदाधिकारी बैठकले सभामुख तथा राष्ट्रपतिलगायत पदमा हुने निर्वाचनमा अन्य दलहरूसँग छलफल गरी अघि बढ्न सभापति देउवालाई जिम्मेवारी दिएको थियो।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार