मुख्यमन्त्री जम्कट्टेलले भोलि विश्वासको मत लिने

२०७९ चैत्र ७ मंगलवार

मकवानपुर : बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले भोलि (बुधबार) प्रदेशसभाबाट विश्वासको मत लिँदैछन् । मुख्यमन्त्री नियुक्त भएको ६५ दिनमै उनले दोस्रो पटक संसदबाट विश्वासको मत लिन थालेका हुन् ।

उनले बुधबार बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने गरी प्रदेशसभा सचिवालय हेटौंडामा प्रस्ताव पेस गरिसकेका छन् । उनको विश्वासको मत सम्बन्धी प्रस्ताव बुधबार दिउँसो ३ बजे बस्ने बैठकमा टेबल हुनेछ ।

प्रदेशसभा सचिवालयले चैत ८ गते दिउँसो ३ बजेका लागि प्रदेशसभाको बैठक बोलाएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

तत्कालीन सत्ता साझेदार दल राप्रपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्कट्टेलले दोस्रो पटक विश्वासको मत लिनुपर्ने अवस्था आएको हो । प्रदेशमा पुस २६ मा मन्त्रिपरिषद् गठन हुँदा एमाले, माओवादी केन्द्र र राप्रपाबिच बनेको समीकरण राष्ट्रपतिको निर्वाचनसँगै भत्किएपछि राप्रपाले फागुन १३ गते शनिबार सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएको थियो ।

यसअघि मुख्यमन्त्री जम्कट्टेलले प्रदेशसभाका दुई तिहाइभन्दा बढी सांसदको विश्वासको मत पाएका थिए । उनलाई ६ दलका १०५ जना सांसदले विश्वासको मत दिएका थिए । गत पुस २५ गते ५ दलका ७० जना सांसदको समर्थनमा मुख्यमन्त्री बनेका जम्कट्टेललाई नेमकिपाका ३ जना सांसदले भने विश्वासको मत दिएका थिएनन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार