
काठमाडौँ : स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनबारे छलफल गर्न रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) ले विद्यार्थी संगठनहरूलाई बोलाएको छ । तालाबन्दीको अन्त्य गर्दै छलफलमा आउन आग्रह गरेको हो ।
क्याम्पस प्रमुख प्रा.डा. जीवनधर ज्ञवालीले एक विज्ञप्ति जारी गर्दै विगतको दिनमा उत्पन्न भएका घटनाहरूलाई आ आफ्नो पक्षबाट समीक्षा गर्दै गल्ती कमजोरी सुधार गर्दै स्ववियु निर्वाचनसँग प्रत्यक्ष सरोकार राख्ने विद्यार्थी संगठनहरूलाई छलफलमा आउन आग्रह गरेको हो ।
स्ववियु निर्वाचनको विषयलाई लिएर अनेरास्ववियू, नेविसंघ लगायतका विद्यार्थी संगठनहरूले गत फागुन २७ गतेदेखि ताला लगाएका थिए । उनीहरूले निर्वाचन अधिकृतको राजीनामा माग गर्दै आएका छन् । अनेरास्ववियुलाई फाइदा पुग्नेगरी निर्वाचन अधिकृतले काम गर्दै आएको भन्दै उनको राजीनामा माग गरेका हुन् ।
त्रिविका उपकुलपति र विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले चैत १२ गते अगावै निर्वाचन गराउन निर्देशन दिएका छन् । क्याम्पसमा देखिएका समस्या छलफल र वार्ताको माध्यमबाट समाधान गरेर निर्वाचन गराउन भनिएको हो ।
निर्वाचनका क्रममा उत्पन्न असमझदारीका कारण भएको तालाबन्दीका कारण क्याम्पसका नियमित प्रशासनिक तथा शैक्षिक गतिविधिसमेत प्रभावित भएका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।