प्रधानमन्त्रीलाई पटकपटक भनेको छु, जनतालाई नतर्साउनुहोस् : गगन थापा

२०७९ चैत्र ९ बिहीबार

काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री नडराएसम्म जनता डरबाट मुक्त हुन नसक्ने बताएका छन्। बिहीबार सामुदायिक रेडियो प्रशारक संघको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले प्रधानमन्त्री डराउनुपर्ने बेला आएको बताएका छन्।

प्रधानमन्त्रीले नागरिक तर्साउने कुरामा नलागी नागरिक र देश विकासका लागि कसरी अघि बढ्ने भन्ने सोच्नुपर्ने बताए। प्रधानमन्त्रीले एक्लै बस्दा डराउनुपर्ने स्थिति सिर्जना हुनु जनतामा नैराश्यता रहेको थापाले टिप्पणी गरे। महामन्त्री थापाले प्रधानमन्त्रीले आफूसँग पर्याप्त मत छ भनेर बस्ने छुट नरहेको पनि बताए। आफूले अहिलेसम्म जनतामा यस्तो किसिमको नैराश्यता नदेखेको भन्दै सरकारलाई काम नगर्ने छुट नरहेको पनि थापाले भने।

‘म साँच्चिकै डराएको छु, मैले प्रधानमन्त्रीलाई पटक पटक भनेको छु, नागरिकलाई नतर्साउनुस्। तर प्रधानमन्त्री एक्लै बस्दा डराउनुपर्ने बेला भएको छ,’ थापाले भने, ‘एक्लै बिहान बेलुका बस्दै गर्दा डराउनुपर्ने बेला भएको छ। दिनमा कम्तिमा आधा घण्टा समय निकाल्नुहोस्, भेटघाट बन्द गर्नुहोस् र एक पटक सोच्नुहोस्।’

कुर्सीमा बसेको प्रधानमन्त्री नै डराउनपर्ने अवस्था सिर्जना भएको भन्दै थापाले अघि भने, ‘मसँग भएको एकएक क्षणको समयको कसरी प्रयोग गर्ने? डराउनुस्। कुर्सीमा बसेको प्रधानमन्त्री डराउनुपर्ने बेला भएको छ। प्रधानमन्त्री डराउनुपर्छ। प्रधानमन्त्री डरायो भने बल्ल नागरिक डरबाट मुक्त हुने अवस्था हुन्छ।’

महामन्त्री थापाले सामुदायिक रेडियोको उन्नयनका लागि आफूले सबै किसिमले् सहयोग गर्ने प्रतिवद्धता पनि जनाए। भ्रामक समाचारको प्रवाह रोक्न र समुदायलाई गलत सूचनाबाट जोगाउन सामुदायिक रेडियोको भुमिका महत्वपूर्ण हुने उनले स्पष्ट पारे।

‘प्रधानमन्त्रीले दायाँ हरेपनि भोट, बायाँ हरेपनि भोट मसँग १७२ छ, १७३ छ ढुक्क छ भन्दै गयो भने टाउको टाउको मात्रै बाँकी रहन्छ, हामीलाई सुन्ने मान्छे बाँकी नरहन सक्छ’, उनले भने, ‘मैले यत्ति धेरै तन्नेरीहरु आत्तिएको कहिल्यै देखेको थिइन। यतिधेरै मानिस निरास भएको देखेको थिएन।’

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार