नागरिकता काण्डमा रवि लामिछानेको मन्त्री र सांसद पद जान्छ ? आजबाट सर्वोच्च अदालतमा सुनुवाई हुँदै

२०७९ माघ ११, बुधबार ०८:५३ बजे

काठमाडौं : उपप्रधान एवम गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापनि रवि लामिछानेको नागरिकता विवादमा परेको रिटको पेशी आजका लागि तोकिएको छ । उनको मुद्धामा आज सर्वोच्च अदालतको संवैधानिक इजलासमा पूर्ण सुनुवाइ हुन लागेको हो ।

रविराज बसौला र युवराज पौडेलले लामिछाने सांसद् हुन समेत अयोग्य रहेको भन्दै उनलाई काममा रोक लगाउनुपर्ने मागसहित सर्वोच्चमा रिट हालेका थिए ।

अमेरिकी नागरिकता र पासपोर्ट प्राप्त गरेसँगै नेपाली नागरिकता स्वतः बदर हुनेमा लामिछानेले नेपाल फर्केर दल दर्ता तथा प्रतिनिधिसभामा उम्मेदवार बन्दा पुरानै नागरिकता प्रयोग गरेको रिटमा उल्लेख छ ।

यसअघि गत पुस २२ गते संवैधानिक इजलासमा कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउत रहेको इजलासमा बहस भएको थियो ।

सो दिन जारी आदेशमा ‘विवादको सुनुवाइलाई अग्राधिकार प्रदान गरी छिटो छरितो रूपमा सम्पन्न गर्न आवश्यक देखिएको’ जनाइएको थियो ।

संवैधानिक इजलासले लामिछानेको नागरिकतासम्बन्धी विवादमा मागेको जवाफमा प्रतिनिधिसभा सचिवालय, निर्वाचन आयोग र जिल्ला प्रशासन कार्यालय काठमाडौंले रिट खारेज गर्न माग गरेका छन् ।

अमेरिकाबाट नेपाल आएपछि आफ्नो नागरिकतालाई क्रियाशिल गराउन कुनै पनि प्रक्रिया नअपनाई राजनीतिक उचाइसमेत हासिल गरेका लामिछानेको सम्बन्धमा सर्वोच्च अदालतले कस्तो फैसला गर्ला ? आम चासोको विषय बनेको छ । आज यस सम्बन्धमा सर्वोच्चले गर्ने व्याख्याले नयाँ नजिर स्थापित गर्ने कानुनविदहरुको तर्क रहेको छ । नेपालमा आफैंले सक्रिय गराएको उनको नागरिकताले कानुनी मान्यता नपाए उनको गृहमन्त्री र सांसद पदसमेत धरापमा पर्ने भनाइ उनीहरुको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार