संघीय संसद् सुन चोरहरुको संसद् बनेको छ : दमननाथ ढुंगाना

२०८० फाल्गुन १५, मंगलवार

काठमाडौं : पूर्वसभामुख दमननाथ ढुंगानाले संघीय संसद सुन चोरहरुको संसद् बनेको बताएका छन्।

मंगलबार सभासद मञ्च नेपालले आयोजना गरेको ‘संविधान, सुशासन र समृद्धि’ विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै पूर्वसभामुख ढुंगानाले वर्तमान संघीय संसद सुन चोरहरुको बनेको बताएका हुन्। उनले संसद् ठेकेदार, फटाहा र स्पोन्सरहरुको बनिरहेको पनि बताए। सबै भ्रष्टाचारीहरुलाई सांसद बनाउन गइरहेका भन्दै वर्तमान निर्वाचन प्रणाली नै फेर्नुपर्ने उनको भनाइ छ। उनले अहिलेको निर्वाचन प्रणाली भ्रष्टाचारको द्वार भएको बताए।

पार्टीले जनसेवी र प्रसिद्ध नेतालाई चुनावको टिकट नदिई पैसामा बेच्ने गरेका उनले बताए। उनले भने, ‘यो निर्वाचन प्रणाली भ्रष्टाचारकै द्वार हो। यो पार्टी, उ पार्टीको कुरा होइन। एउटा मान्छे सबै जवानी खर्च गरेर एउटा क्षेत्र बनाउँछ भोलि म सांसद हुँला भनेर। पार्टीलाई पनि थाहा छ, यो पपुलर छ, जनसेवी छ। यसले जित्छ भनेको छ। खुत्रुक्क कुन नेताको खल्तीमा कुन पैसा पर्छ, करोडौं पर्छ। त्यसले टिकट पाउँछ। दलमा भ्रष्टाचार टिकट बेच्नमा शुरु भइसकेको छ। यो रोक्न सक्छौं हामी? ०८४ को संसद कस्तो होला कल्पना गर्नुस् त? खाली ठेकेदार, फटाहा र स्पोन्सरहरुको र अहिले सुन चोरीहरुको संसद् बन्न गइरहेको छ। त्यतातिर ध्यान जानुपर्छ कि पर्दैन? सरकार र प्रधानमन्त्रीको? जम्मै भ्रष्टाचारीहरुको सांसद बनाउन गइरहेका छौं।’

उनले संविधानको आधारभूत चरित्रमाथि प्रश्न उठिरहेको भन्दै मासले आन्दोलन गरेमा ०७२ सालको संविधान उल्टिन सक्ने बताए। उनले मास आन्दोलनका कारण ०४७ सालको संविधान उल्टिएको दृष्टान्तसमेत दिए। उनले सरकारका मन्त्रीहरु भ्रष्टाचारमा मुछिँदासमेत प्रधानमन्त्रीले हटाउन नसकेको भन्दै सरकार सकसमा चलिरहेको बताए।

पूर्वसभामुख ढुंगानाले सबै विरोधीहरु गणतन्त्र विरोधी नभएको पनि बताए। सबै विरोधीहरुलाई गणतन्त्र विरोधी भन्ने हो भने राजा महेन्द्रले आफूहरुलाई अराष्ट्रिय भनेजस्तै हुने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार