संसदमा राष्ट्रिय मान्यता नपाएको दलको मान्छे कुन बाटोबाट प्रधानमन्त्री हुन्छ ? : केपी ओली

२०८० फाल्गुन १६, बुधबार

काठमाडौं : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालले प्रधानमन्त्री हुन्छु भन्दै हिँड्ने कुरा हास्यास्पद रहेको टिप्पणी गरेका छन् ।

बुधवार सुनसरीको इनरुवामा आयोजित पार्टी कार्यकर्ता भेलामा बोल्दै उनले माधव नेपालको नाम नलिई आगामी असार १५ गते प्रधानमन्त्री हुन्छु भन्दै हिँडेको र उनका समर्थकहरुले तालि बजाएकोमा आफूलाई अचम्म लागेको पनि बताए । संसदमा राष्ट्रिय मान्यता नपाएको दलका मान्छे कुन बाटोबाट प्रधानमन्त्री हुन्छ ? भनि अध्यक्ष ओलीले प्रश्न समेत गरे ।

उनले संविधान, कानून कता छ, संसदमा के छ ? भन्ने थाहा नपाएकाले प्रधानमन्त्री हुन्छु भनेर कराएर हिँड्ने गरेकाले देशमा व्यवस्था बिरोधि अराजक गतिविधि बढिरहेको जिकिर समेत गरे । त्यस अवसरमा अध्यक्ष ओलीले आगामी, २०८४ सालको निर्वाचनमा एमालेले एकल बहुमत ल्याएर सरकार बनाउने समेत दोहो¥याए । एमालेले, २०८४ सालको निर्वाचनमा बहुमत ल्याउने उनको दाबी थियो ।

उनले भने, ‘सरकारको असफलताले गर्दा देश असफलतातिर जाँदैछ । राजनीति असफलतातिर जाँदैछ । अर्थतन्त्र असफलतातिर । समाज अराजकता, अनुसशासनहिनता आफ्नो सभ्यता, संस्कृति सबै बिर्संदै गएको उत्ताउलो, छाडा, अराजक भईरहेको छ । यस्तो अवस्थामा जनता कतै उत्साहित हुने ठाउँ नपाएर, मन अड्याउने ठाउँ नपाएर निराशामा छन । यस अवस्थाको फाईदा लिएर विभिन्न प्रकारका प्रतिगामी शक्तिहरु मौका आउँछ कि भनेर केही सडकमै उपद्रव मच्याउन निस्केका छन । एकखालको परीक्षण गरिरहेका छन उनीहरु यतिबेला । कुनै राजनीतिक पृष्ठभूमि नभएका, कुनै जनाधार नभएका, राजनीतिक दृष्टिकोण नभएका, कुनै प्रकारको गन्तव्य नभएका, कुनै नीति नभएका, त्यस्ता तत्वहरु । आज कति हास्यास्पद छ देशको राजनीति, जो मान्छे संसदमा छैन, त्यस्तो मान्छे सडकमा आएर भन्छ– म असार १५ गते प्रधानमन्त्री हुन्छु भन्दैछ, अगाडि बसेका मान्छेहरु हो हो भनेर  ट्यापट्याप गर्छन् । अचम्म लाग्छ । संविधान कता छ ? कानून कता छ ? संसद के छ ? त्यो केही थाहा छैन । अनि एउटा मान्छेले कराई दिन्छ–म असार १५ गते प्रधानमन्त्री हुन्छु भनेर । कुन बाटोबाट प्रधानमन्त्री हुन्छ ऊ ? तर यस्तो अराजकता । के बोल्दैछु उसलाई थाहा छैन । यस खालको स्थिति छ । र, त्यसबाट प्रयोगात्मक ढंगले केही शक्तिहरु लोकतन्त्र विरुद्ध, लोकतान्त्रिक गणतन्त्रविरुद्ध केही शक्तिहरु यही मौका हो कि आयो कि पालो भनेर कस्सिएका छन । देशमा ग्रहण लागेको होला कहिले कहिले । तर नेकपा एमाले छँदाछँदै यस देशको सार्वभौमसत्तालाई, स्वाधिनतालाई, स्वतन्त्रतालाई, भौगोलिक अखण्डतालाई कसैले पनि तलमाथि गर्न सक्नैछैन । किनभने यस देशमा नेकपा एमाले छ । यस देशको भविष्य कसैले पनि अन्धकार बनाउन सक्नेछैन । किनभने यस देशमा नेकपा एमाले छ । नेकपा एमाले अरु पार्टीजस्तै पार्टीका लागि पार्टी, चुनावदेखि चुनावसम्मका लागि पार्टी होइन । यो पुर्खाले लडेर बनाएको देश बचाउने अभिभारा, यसलाई सुदृढ बनाउने अभिभारा, यसलाई विकसित बनाउने अभिभारा, यसलाई शान्तिपूर्ण र सुशासनयुक्त देश बनाउने अभिभारा, नेपाललाई समृद्ध र न नेपाली जनतालाई सुखी बनाउने संकल्प बोकेर हिँडेको यो पार्र्टी । यो पार्टी पनि कसैले समाप्त पार्न सक्दैन । परारको सालमात्रै सचिवालय, स्थायी कमिटी, केन्द्रिय कमिटी, जो हामीले एकताका लागि जोडेका थियौं । त्यो जोडेकोलाई दुरुपयोग गरेर त्यो जोड्ने प्रमुख व्यक्ति मै थिएँ । मैले नै जोडेको थिए । त्यसस्थितिमा पार्टीलाई पु¥याउने अगुवाई मैले नै गरेको थिए । तर यसरी पार्टी कब्जा गरे एकछिनसम्म । मलाई नै सदस्यबाट निकालिदिए । अलिकति कारबाही हो र ? साधारण सदस्य समेत नरहने गरी । र, भविष्यमा पनि कम्युनिष्ट हुन नपाउने गरी । म त भविष्यमा पनि कम्युनिष्ट हुन नपाउने रे ।त्यसरी पार्टीबाट निश्काशन गरे, कब्जा गरे । तर पार्टी कब्जा हुँदैन्थ्यो, भएन । हुन सक्दैन्थ्यो, भएन । अब पार्टी सुदृढ यस ठाउँमा आएको छ । आम कार्यकर्ता र दोस्रो तहका नेता र कार्यकर्ताहरुले पार्टी बचाउनु भयो । त्यसकारण मैले अघि भनेको हुँ–पार्टी हामीले बचायौं । अब पुग्यो त ? अहिले पनि हाम्रा विरोधीहरु षड्यन्त्र गरिरहेका छन् । तिनका षड्यन्त्रका एउटा एउटा टुसा पलाउँदैछन् । त्यसैबेला ती टुसा भाँचिदिनुपर्छ । यस देशमा दक्षिणपन्थी प्रतिक्रियावादीहरुको सरकार कुनै गठबन्धनको सरकार बन्न एमालेले दिँदैन । देश बर्बाद पार्न एमालेले दिँदैन २०८४ मा । एमालेले एकल बहुमत ल्याउँछ । बहुमतको सरकार बनाउँछ २०८४ मा, यो लुकाउने कुरा छैन ।’

अध्यक्ष ओलीले एमालेलाई ठूलो संकटबाट पार्टीका दोस्रो तहका नेता र आम कार्यकर्ताले बचाएको उल्लेख गर्दै अहिले विरोधीहरुको कुनैपनि षड्यन्त्रलाई परास्त गर्न सक्षम भइसकेको दाबी समेत गरे । उनले वर्तमान सरकार र सत्तारुढ गठबन्धनको नालायकीपनका कारण देश बर्बादीको दिशातिर अघि बढेको आरोप समेत लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार