दयाहाङ र मिरूनाको ‘घरज्वाँइ’को फस्टलुक पोस्टर सार्वजनिक

२०८० चैत्र १८, आईतवार

काठमाडौं : अभिनेता दयाहाङ राई र अभिनेत्री मिरूना मगरको मुख्य भूमिका रहेको फिल्म ‘घरज्वाँइ’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ ।

आउँदो बर्षको असार २८ गते प्रदर्शन हुनलागेको फिल्मको पात्रहरुको मनोदशा देखाउँदै सार्वजनिक गरिएको पोस्टरमा दयाहाङ र मिरूना प्रस्तुत गरिएको छ ।

ग्रामीण परिवेशलाई पृष्ठभूमिमा राखेर तयार पारिएको दुईवटा पोस्टरमध्ये एउटामा दयाहाङ र मिरुना डोको बोकेर हिँडिरहेका उनीहरु दम्पतीको भूमिकामा रहेको बुझ्न सकिन्छ । अर्को पोस्टरमा दयाहाङ बन्दुक भिरेर चित्रित छन् ।

जनक घर्ती मगरको निर्माणमा तयार भएको यो फिल्मका निर्देशक अनिल बुढा मगर हुन् । फिल्ममा अनिलकै कथा छ । अनिल बुढा मगर, विनोद खतिवडा र सुभाष कोइरालाको लेखनमा तयार भएको फिल्ममा सुसन प्रजापतिको छायांकन, हर्क साउद र मनोज थापाको संगीत छ ।

जि.एम मुभिज प्रोडक्सन प्रालिको ब्यानरमा निर्माण भएको यो फिल्ममा दयाहाङ र मिरूनाका अलावा बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर वाङ्देल, भोलाराज सापकोटा, राज थापा, कविता आले, अनु थापा, बिना थापा मगर, खबपु पुन, सोनाम लामा, बिबेश बुढा मगर सुनिल मगर लगायतको मुख्य भूमिका रहेको छ ।

फिल्म घरज्वाइँ बस्ने परम्पराको कथावस्तुमा आधारित रहेको बुझन सकिन्छ । करिब एक महिना अघि छायांकन सकिएको यो फिल्मको छायांकन पूर्वी रुकुमको लुगुम, तक्सेरा लगायतका स्थानमा गरिएको हो ।

‘घरज्वाँइ’ लाई आरआर फिल्मसले वितरण गर्नेछ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार