भारतीय चुनावमा मतदाता बढाउन सित्तैमा बियर र ट्याक्सी खर्चको अफर !

२०८१ बैशाख १३, बिहीबार

काठमाडौँ : भारतमा चलिरहेको सात दिने आमचुनावको दोस्रो चरणमा शुक्रबार मतदान हुँदै छ। त्यसका लागि ब्यांग्लोरको कर्णाटक राज्यमा मतदातालाई मतदानमा आकर्षित गर्न अनेक जुक्ति निकालिएको छ।

बीबीसीका अनुसार धेरै कम्पनीहरुले मतदानमा सहभागी हुनेलाई निःशुल्क खानादेखि ट्याक्सी खर्चसम्म दिइरहेका छन्। यसमा सित्तैमा बियर, छुटमा क्याब राइड र निःशुल्क स्वास्थ्य जाँच जस्ता सुविधा रहेका छन्।

केही खाद्य बिक्रेताले ग्राहकलाई चुनावमा मतदान गरेको मसी पोतिएको औँला देखाउनुपर्ने सर्त अघि सारेका छन्। गत बुधबार मात्रै उक्त राज्यको उच्च अदालतले निर्वाचन कार्यविधि उल्लंघन नहुने गरी यस्तो सुविधा दिन अनुमति दिएको थियो।

कर्णाटकमा आम मानिसहरुले चुनावमा न्यून सहभागिता जनाउने गरेकाले यसपटक ती सुविधामा छुट दिइएको बताइएको छ। सन् २०१९ को आम चुनावमा उक्त सहरको ब्यांग्लोर साउथ कन्टिचुअन्सीले कर्णाटककै कम अर्थात् ५३.७ प्रतिशत मात्रै मतदान भएको थियो।

यस्तो सुविधा दिनेमा राइडसेयरिङ एप ब्लु–स्मार्ट, र्‍यापिडोलगायत छन् भने मिस्टर फिली रेस्टुराँ, वन्डरला पार्कलगायतले पनि छुटको अफर ल्याएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार