हाम्रो देश
९ बैशाख २०७८, बिहिवार

माओवादी छाडेर एमाले गएका सांसद झपट बोहरा भन्छन्- स्पष्टीकरणको कुनै तुक छैन

सुदूरपश्चिमका पूर्वमन्त्री तथा सांसद झपटबहादुर बोहराले माओवादी केन्द्रले स्पष्टीकरण सोध्नुको कुनै तुक नरहेको बताएका छन्। प्रधानमन्त्रीको लाइनमा उभिएर सरकारबाट राजीनामा दिएका उनले प्रष्ट हुँदाहुँदै स्पष्टीकरण सोध्नुपर्ने अवस्था नै नरहेको बताएका छन्। यसअघि बुधबार माओवादी केन्द्रले एमालेमा गएका उनलाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको थियो।

‘मैले मन्त्री पद छोडेको तीन महिना ४ दिन भयो, यतिसम्म त उहाँहरूले कारबाही गरिसक्नुपर्ने, झन् ढिला गर्नुभयो,’ उनले भने। सांसद बोहराले स्पष्टीकरणको जवाफ नदिने बताएका छन्। संसदीय दल र प्रदेश पार्टीले कारबाही गर्नु स्वभाविक रूपमा लिएको उनले बताए। ‘कार्यकर्तालाई विधान बाहिर गएमा कारबाही गर्छन् त्यसमा समस्या छैन,’ उनले भने।

विगतको चुनावताकामा भएको बाम गठबन्धन स्मरण गर्दै उनले त्यसैबेला एमालेले पनि भोट दिएका बताए। ‘चिन्ह माओवादीको थियो तर भोट त सबै जनताले दिएका हुन नि!,’ उनले भने।उनले राजनीति लहलहै नलागी सिद्धान्तको आधारमा गरिने बताए।

‘राजनीति लहलहैमा गरिन्न। सिद्धान्तका आधारमा गरिन्छ। हामी एकताका पक्षमा छौं। अहिले पनि एकता कायम छ,’ उनले भने। माओवादी केन्द्रले उनलाई सांसद पदबाट पनि निलम्बन गर्ने अधिकार हुन्छ। ‘पार्टीको निर्णयलाई मैले सहजताका रूपमा स्वीकारेको छु, मलाई सदस्यबाट निकाल्छन्, सांसदबाट निकाल्छन् भन्ने थाहा पाएरै त मैले राजीनामा दिएको हुँ,’ उनले भने।

उनले जनताले आफूलाई सरकारमा पुर्‍याएको बताए। आगामी चुनावमा पनि जनताबीच जाने र जनताले जे निर्णय गर्छ त्यो स्वीकार्ने उनको भनाइ छ। उनले मन्त्री पदबाट राजीनामा दिएको तीन महिना पूरा भए पनि मुख्यमन्त्री त्रिलोचन भट्टले नयाँ चुन्न सकेका छैनन्। प्रदेश सरकारका दुई मन्त्रालय आफैं सम्हालेका मुख्यमन्त्रीले मन्त्री छान्न पनि नसक्नु अकर्मण्यता भएको बोहराको भनाइ छ। ‘पुँजीगत खर्च न्यून छ। यो प्रदेश सरकारले जनतासँग न्याय गर्न सक्ने क्षमता छैन, जनतालाई उहाँहरूले निराश पार्नु भएको छ,’ उनले भने।

प्रतिकृया दिनुहोस्