हाम्रो देश
९ बैशाख २०७८, बिहिवार

मेलम्ची आएपछि सुख्खा भए पानी ट्यांकर, गाडीलाई ट्रक बनाउने योजनामा व्यवसायी

हरेक वर्ष फागुनदेखि चैत वैशाखसम्म ट्यांकर व्यवसायी उपेन्द्र पाठकलाई काठमाडौंका घरघरमा पानी पुर्‍याउन भ्याइनभ्याइ हुन्थ्यो। धेरैपटक उपभोक्तालाई ट्यांकरका लागि दुई-तीन दिन नै कुराउनु परेको छ। यसपालि भने उनलाई फुर्सद छ। र, यो फुर्सद उनलाई मेलम्चीले दिएको हो। काठमाडौं उपत्यकामा मेलम्चीको पानी आउन सुरू गरेसँगै दिनमा एक/दुई ट्यांकर माग पनि मुश्किलले आउन थालेको उनी बताउँछन्।

‘कोरोना महामारी र मेलम्चीको पानी आउनुअगाडि त मलाई यो सिजनमा बिहानदेखि फोन उठाउन पनि भ्याइनभ्याइ हुन्थ्यो। अब हिजोआज दिनमा एउटा फोन आउन मुश्किल भएको छ,’ व्यवसायी पाठकले सेतोपाटीसँग भने। मेलम्ची पानी आएसँगै ट्यांकरको माग पचास प्रतिशत घटेको उनको भनाइ छ।

ट्यांकर व्यवसायीले दैनिक लगभग पाँच करोड लिटर पानी आपूर्ति गर्दै आएका थिए। अहिले मेलम्चीबाट दैनिक साढे आठ करोड लिटर पानी आइरहेको छ। यो बेलामै ट्यांकरको माग आधा घटेकाले पाठकलाई आफ्नो व्यवसाय धरापमा पर्ने चिन्ताले गाँज्न थालिसक्यो। अब मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी आए, धेरै ट्यांकर व्यवसायी विस्थापित हुनेमा कुनै शंका नरहेको उनी बताउँछन्।

उनी भन्छन्, ‘अहिले यस्तो छ, अझ वैशाखदेखि दिनकै १७ करोड लिटर पानी आउने भनिएको छ। यसपछि रिङरोड बाहिरका ठाउँमा पनि पानी पुग्छ। त्यसले गर्दा ९० प्रतिशत ट्यांकर विस्थापित हुन्छन्।’

कोरोना महामारी सुरू भएदेखि यसै पनि ट्यांकर माग कम थियो। होटल, विद्यालय, रेस्टुरेन्ट लगायत अधिकांश व्यवसाय ठप्प भएकाले पानीको माग घट्यो। मेलम्ची आएपछि त झन् ट्यांकर व्यवसायीले विकल्प सोच्नुपर्ने बेला आएको उनी बताउँछन्।

जोरपाटी क्षेत्रबाट उपत्यकाका विभिन्न स्थानमा ट्यांकर पानी आपूर्ति गर्दै आएका कुमार लामाको पनि अवस्था पाठककै जस्तो छ। मेलम्ची आएसँगै माग गरेको पानी पनि बाटोसम्म पुर्‍याएर फर्काउनुपर्ने अवस्था सिर्जना भएको उनी बताउँछन्।

‘कुनै ठाउँबाट पानी अर्डर आउँछ। बीच बाटो पुगेपछि भो अब नआउनुस्, हाम्रोमा धाराको पानी नै आयो भनेर फर्काउन थाल्नुभएको छ,’ लामाले भने, ‘सर्वसाधारणका लागि यो निकै सुखद पाटो हो। तर ट्यांकर व्यवसायीका लागि समस्या खडा भएको छ। अब समयको मागसँगै हामीले विकल्प खोज्नुपर्ने देखियो।’

लामाका अनुसार मेलम्ची नआएको अवस्थामा उनको एउटा ट्यांकरले सुख्खा सिजनमा दिनमा सात ट्रिपसम्म पानी आपूर्ति गर्थ्यो। अहिले ट्यांकरलाई नै सुख्खा लागेको छ।

ट्यांकर व्यवसायी उज्वल शाक्य पनि मेलम्ची आएपछि उपत्यकामा ट्यांकर माग आधा घटेको बताउँछन्। सुख्खा सिजनमा शाक्य एउटा ट्यांकरले दैनिक सात ट्रिपसम्म पानी ओसार्थे। अहिले तीन ट्रिप पुग्दैन। शाक्यले विशेषगरी ललितपुर क्षेत्रमा पानी पुर्‍याउँदै आएका छन्।

वर्षौंदेखि राम्रो भइरहेको काम एकाएक धरापमा परेपछि धेरै व्यवसायी पानी आपूर्तिको विकल्प सोच्न थालिसकेका छन्। ट्यांकर व्यवसाय नै बचाइराख्न समयको मागअनुसार आफूहरूको काम परिवर्तन हुनुपर्ने बताउँछन् व्यवसायी लामा। हाल उनका दस वटा ट्यांकर सञ्चालनमा छन्। पानी माग कम भएसँगै अब आवश्यकताअनुसार ती ट्यांकरलाई अन्य काममा प्रयोग गर्ने उनको सोच छ।

‘अब हामीले जारको पानी, मिनरल वाटर ट्यांकरबाट सहज तथा सर्वसुलभ तरिकाले आपूर्ति गर्न सकिन्छ कि भन्नेतर्फ पनि सोच्नुपर्ने भएको छ,’ उनी भन्छन्, ‘त्यस्तै ट्यांकी हटाएर ढाला (ट्रक-टिपरका पछाडि राखिएको सामान राख्ने फलामको ठूलो बाकस) राखेर ट्रक बनाउन पनि सकिन्छ।’

व्यवसायी शाक्य पनि अधिकांश ट्यांकी हटाएर ढाला राख्नुपर्ने अवस्था आएको बताउँछन्। भन्छन्, ‘अब उपत्यकामा पानीको ट्यांकर चलाउन सकिँदैन। ढाला राखेर ट्रकका रूपमा सामान ओसारपसारका लागि प्रयोग गर्न सकिन्छ होला। हामी ट्यांकर व्यवसायीले अब त्यतातिर सोच्नुपर्ने बेला आएको छ।’

ट्यांकर विस्थापित नै हुने अवस्था आएकाले सरकारले सहयोग पुर्‍याउनुपर्ने पनि उनीहरूको भनाइ छ। व्यवसायी पाठकका अनुसार यही क्रम चलिरहे अब ट्यांकर व्यवसाय धेरै चल्दैन। ट्यांकी निकालेर ट्रक बनाउनेबारे उनीहरू सबै सोचिरहेका छन्। तर यसका लागि उनीहरूलाई काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको सहयोग चाहिन्छ। यसबारे बोर्डसँग छलफल गर्नुपर्ने आवश्यकता पनि देखिएको उनी बताउँछन्।

‘हामीलाई पानी आपूर्तिको लाइसेन्स बोर्डले दिएको हो। अब समस्या पर्दा बोर्डले नै सहयोग गर्नुपर्छ,’ व्यवसायी पाठकले भने, ‘विस्थापित हुने अवस्थामा रहेका व्यवसायीलाई मार्गदर्शन गर्ने तथा ढाला राख्ने काममा बोर्डले सहजीकरण गरिदिनुपर्छ।’

बोर्डले आफूहरूलाई छलफलमा छिट्टै बोलाउने भने पनि आनाकानी गरिरहेको गुनासो उनको छ। यसबारे हामीले काठमाडौं खानेपानी व्यवस्थापन बोर्डसँग सोध्यौं। बोर्डका सूचना अधिकारी उदयकुमार केसीले तत्कालै ट्यांकर विस्थापित भइहाल्ने अवस्था नरहेको जिकिर गरे।

‘मेलम्ची पानी आउनासाथ ट्यांकर विस्थापित भइहाल्छन् भन्ने हुँदैन। केही कमी त अवश्य हुन्छ। व्यवसायीबीच देखिने समस्या सहजीकरणका लागि बोर्डले पहल गर्छ। उहाँहरूलाई छलफलका लागि पनि बोलाउँछौं,’ सूचना अधिकारी केसीले भने।

ट्यांकर व्यवसायी भने यसमा सहमत छैनन्, आफूहरूले विकल्प खोज्नै पर्ने अवस्था आएको उनीहरू बताउँछन्। माग कम भए पनि ट्यांकर पानीको भाउ भने घटेको छैन। अहिले डिजेलको मूल्य र ढुवानी लगायत खर्च बढेकाले मूल्य घटाउने अवस्था नरहेको उनीहरूको भनाइ छ।

‘केही वर्षअगाडि लिटरको ७० रूपैयाँ पर्ने डिजेल अहिले एक सय नाघेको छ। पानीको माग घट्दैमा मूल्य घटाउने अवस्था नै छैन,’ व्यवसायी पाठकले भने, ‘सबै खर्च जोड्दा अहिले जुन मूल्यमा झारिरहेका छौं, त्यसैमा टिक्न मुश्किल छ।’ दिनमा एकाध ट्रिप गरेर भएको आम्दानीबाट श्रमिकलाई पारिश्रमिकदेखि लिएर सबै व्यवस्थापन खर्च गर्नुपर्ने हुँदा पानीको भाउ घटाउन नसकेको उनीहरू बताउँछन्।

काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले ७ हजार लिटर ट्यांकर पानीको अधिकतम मूल्य दुई हजार दुई सय रूपैयाँ तोकेको छ। दुरी हेरेर नजिकैका स्थानमा दुई हजार रूपैयाँसम्म पनि पुर्‍याउने गरेको व्यवसायीहरूको दावी छ। गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौंमा ल्याइएको मेलम्ची खानेपानी आयोजनाको पानी वितरण उद्घाटन गरेसँगै धेरै उपत्यकावासीका धारामा पानी पुगिसकेको छ।

धेरै पानी खपत हुने ठाउँमध्ये देवकोटा सडक, बत्तीसपुतली, विमानस्थल हाइट, चाबहिल, सिफल, अनामनगर लगायत रिङरोडका विभिन्न स्थानका धारामा पानी वितरण थालिएको छ। विस्तारै रिङरोड आसपासका स्थानमा पनि मेलम्चीको पानी पुर्‍याइने काठमाडौं उपत्यका खानेपानी लिमिटेडको तयारी छ।

प्रतिकृया दिनुहोस्