हाम्रो देश
८ बैशाख २०७८, बुधवार

सांसद पद खोसिएका चार मन्त्रीको पद धरापमा

काठमाडौं  ।    नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमाले प्रवेश गरेका चार नेताको सांसद पद खोसिएको छ । एमालेतर्फ लागेका ऊर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, शहरी विकासमन्त्री प्रभु साह र श्रममन्त्री गौरीशंकर चौधरीको सांसद पद खोएिएको हो ।

बिहीवार प्रतिनिधिसभाको बैठकमा सभामुख अग्नि सापकोटाले अर्घाखाँची–१ बाट निर्वाचित रायमाझी, कैलाली–४ का भट्ट, रौतहट–३ कासाह र कैलाली–३ काचौधरीको सांसद पद रिक्त भएको जानकारी गराए ।

सापकोटाका अनुसार चार सांसदले दलत्याग गरेकाले राजनीतिक दलसम्बन्धी ऐनअनुसार उनीहरूलाई सांसदबाट हटाउन माओवादी केन्द्रले सूचना दिएअनुसार पद रिक्त भएको उनले बताए ।नेकपा विभाजनका बेला केपी ओली पक्षमा लागेका यी नेता सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई ब्युँताएपछि पनि ओलीको साथ नछाड्ने भन्दै एमालेमा बसेका थिए ।

सर्वोच्च अदालतले २३ फागुनमा नेकपाको एकता खारेज गरेपछि पनि उनीहरू माओवादी केन्द्रमा नफर्किएपछि २८ फागुनमा एमाले अध्यक्ष केपी ओलीले उनीहरूलाई एमाले केन्द्रीय सदस्य मनोनीत गरेका थिए ।

यसबारे माओवादी केन्द्रले सोधेको स्पष्टीकरणको जवाफ प्रभु साहले मात्र दिएका थिए । साहको जवाफ चित्तबुझ्दो नभएको र अरूले जवाफ नदिएको भन्दै माओवादी केन्द्रले उनीहरूलाई दलबाट निष्कासनको कारबाही गरेको थियो ।

संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चार सांसदले दल परित्याग गरेकाले राजनीतिक दलसम्बन्धी ऐनको दफा ३४ को उपदफा १ बमोजिम गरिदिन संसद सचिवालयलाई पत्र पठाएका थिए । प्रतिनिधिसभा सदस्य पदबाट पदमुक्त भएसँगै चारै जनाको मन्त्री पद धरापमा परेको छ ।

 –     आर्थिक अभियान दैनिकबाट

प्रतिकृया दिनुहोस्