हाम्रो देश
५ बैशाख २०७८, आइतवार

राजनीतिमा प्रचण्डको घट्दो ‘क्रेज’ : ओलीले टेर्दैनन्, कांग्रेस र जसपाले पत्याउँदैन

काठमाडौँ – गत फागुन १३ गते सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने ओलीको निर्णयलाई बदर गरिदिएपछि राजनीतिक वृत्तमा हल्ला चलेको थियो, देश अब फेरि ‘प्रचण्ड’ युगतिर जानेछ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगत तीन वर्षदेखि यता सक्रिय राजनीतिक जीवन बाँचेको भए पनि देश केपी शर्मा ओलीको नेतृत्वमा चलेको थियो । प्रचण्ड फगत सत्तारूढ दल नेकपाका दोस्रो अध्यक्ष बनेर बस्न बाध्य थिए ।

तत्कालीन नेकपाका अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल लगायतका धेरै नेताहरूलाई ओलीले टेर्न छाडे । पार्टीको बैठक बोलाउन मानेनन् । सरकारले गर्ने महत्त्वपूर्ण निर्णयका बारेमा पार्टीलाई जानकारी दिन जरुरी ठानेनन् । ओलीको यही शैलीका अगाडि आजित भएर प्रचण्ड, खनाल, नेपाललगायतका नेताहरूले पार्टीभित्र छुट्टै गठबन्धन बनाएका थिए । ओलीलाई काउन्टर गरिरहेका थिए ।

नेकपाको विवाद उत्कर्षमा पुगेका बेला पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरिदिए । ओलीको यस कदमका विरुद्ध नेकपाकै नेताहरू उभिए । सडकमा आन्दोलन गरे । अन्ततः प्रतिनिधि सभा भंग गर्ने ओलीको निर्णयलाई अदालतले बदर गरिदियो । त्यसपछि प्रचण्ड-नेपाल समूहको हाइहाई भएको थियो । प्रतिगमनविरुद्धको एउटा लडाईं जितेको भन्दै खुसियालीमा प्रचण्ड र नेपालले लड्डुसमेत खाए ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, अन्य स-साना पार्टीहरू, नागरिक समाज, बुद्धिजीवी, राजनीतिक विश्लेषकहरूले अब प्रचण्ड-नेपालको सक्रियतामा नयाँ सरकार बनाउने अनुमान गरेका थिए । नेकपा विभाजन भएको थियो, बहुमत संसद, केन्द्रीय सदस्य र कार्यकर्ता प्रचण्ड-नेपाल पक्षमै थिए । निर्वाचन आयोगले पनि प्रचण्ड-नेपाल समूहलाई नै आधिकारिकता प्रदान गर्ने गरी तयारी गरिरहेको थियो ।

प्रतिकृया दिनुहोस्