हाम्रो देश
९ बैशाख २०७८, बिहिवार

म्याद गुज्रेका भारतमा उत्पादित खाद्य वस्तु बिक्री गर्ने पसललाई जरिवाना

विराटनगर । विराटनगरका दुईवटा पसलबाट नेपालमा बिक्री स्वीकृति नलिएका भारतमा उत्पादित खाद्यवस्तु नष्ट गरिएको छ । संयुक्त बजार अनुगमन समितिले विराटनगर–६ केशलिया रोडका दुईवटा किराना पसलबाट सामान बरामद गरि नष्ट गरेको हो ।

उपभोक्ताको गुनासोका आधारमा लक्ष्मीनारायण जनरल स्टोर्स र विवेक किराना पसलमा गरिएको अनुगमनमा म्याद गुज्रेका सामान फेला पारिएको थियो । वाणिज्य आपूर्ति तथा उपभोक्ताहित संरक्षण कार्यालय, खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालय र जिल्ला प्रशासन कार्यालयको संयुक्त बजार अनुगमन समितिले बिहीबार दुईवटा पसलमा अनुगमन गरेको थियो।

वाणिज्य, आपूर्ति तथा उपभोक्ताहित संरक्षण कार्यालय विराटनगरका निमित्त प्रमुख सन्तोष पोखरेलका अनुसार वनस्पति घ्यू, तेल, पापड, चकलेट, झालमुडी (फुरनदाना) टिफिन भुजिया, हुलासको चिउरा जस्ता खाद्य वस्तु म्याद गुज्रेको भेटिएको थियो । बिक्री स्वीकृति प्राप्त नगरेका भारतीय खाद्य वस्तु लुकाईछिपाई भित्र्याएर उपभोक्तालाई ठगि गर्ने दिनेश किरानाबाट पाँच हजार मूल्य बराबरको सामान बरामद गरि नष्ट गरिएको पोखरेलले जानकारी दिनुभयो । दिनेश किरानालाई २० हजार रुपैँया जरिवाना समेत भराइएको छ ।

यसैगरी भारतमा उत्पादन भई म्याद गुज्रिसकेको दावत तेलको र वनस्पति घ्यू बिक्री गर्दै आएको पाइएपछि लक्ष्मी जनरल स्टोर्सलाई दश हजार रुपैँया जरिवाना भराइएको छ । एक हजार मूल्य बराबरको म्याद गुज्रेको वनस्पति घ्यू बरामद र तेल बरामद गरि नष्ट समेत गरिएको पोखरेलले जानकारी दिनुभयो । उनीहरु उपभोक्ता संरक्षण ऐन २०७५ तथा भन्सार चोरी पैठारी गरेर म्याद गुज्रेको सामान बिक्री गरेको आरोपमा जरिवाना भराइएको हो ।

प्रतिकृया दिनुहोस्