हाम्रो देश
८ बैशाख २०७८, बुधवार

सम्पत्ति र दाजुभाइ नभएका होइनन्, तर गजेन्द्रको वास बनेको छ नौबिसे खोलाको पुल

धादिङ । यी हुन् गजेन्द्र आछमी । न त जाडो, न त घाम न पानी केहीकाे परवाह छैन उनलाई । गोलो बाटुलो अनुहार अनि हरियो र रातो मिसिएको गलबन्दी लगाएका । फस्नर नभएको कालो ज्याकेट अनि कालो पाइन्ट ।

नौबिसे खोलामा टोलाउने, भोक लागे होटल चहार्ने, सुत्न परे नौबिसे खोलाकै पुलमुनि जाने । यसैगरी बित्ने गरेको छ गजेन्द्र आछामीको दैनिकी । केही वर्षअघिदेखि मानसिक सन्तुलन गुमाएका गजेन्द्रका बुबा गोरे सार्की र आमा मंगली सार्कीको मृत्यु भएपछि उनी एक्लो र बेवारिसे बनेका हुन् ।

उनको अवस्था हेर्ने हो भने न दाजुभाइ, न सम्पत्ति केही नभएको र व्यवहारिसे जस्तै बस्दै आएका छन उनी । तर गजेन्द्र आछामीको धादिङ्ग जिल्ला धुनिबेशी नगरपालिका वडा नं ८ टापुडाँडामा घर सम्पत्ती र २ दाजुहरु पनि छन् । तर गजेन्द्र करीब २ वर्ष देखि यसैगरी त्रिभुवन राजपथको धुनिबेँशी नगरपालिका वडा नं ६ र ७ को सिमा पर्ने नौबिसे पुलमुनि आफ्नो बास बनाएर बसिरहेका छ्न् ।

पुलमुनि नै रात परे सुत्ने, पानी परे ओत लाग्ने र घाम लागे शीतल खाने उनकाे वास छ । यिनको घर भन्नु नै यही पुल बनेको छ । मानसिक सन्तुलन गुम्दै गएपछि उनको सडक र पुलमै वास भएकाे हाे । उनकी आमा मंगली पनि मानसिक सन्तुलन गुमेपछि यसैगरी कहिले नौबिसे, कहिले धार्के त कहिले खानीखोला गरी सडकमै बास बस्ने गर्थिन् । यस्तै क्रममा उनकाे ट्रकको ठक्करबाट ज्यान गएको थियो ।

गजेन्द्र बसेको पुलबाट हजारौं यात्रुहरुले गन्तव्य पहिल्याए । तर गजेन्द्रको लागि भने पुल बन्ने कोही नहुँदा उनको वास र परिवेश त्यही नौबिसे खोला अनि पुल बनेकाे छ ।हुनत सामाजिक सेवा गर्ने नामका धेरै संघ-संस्था छन् जिल्लामा । तर कहाँ छन्, कसका लागि काम गरिरहेछन् ? यतिखेर गजेन्द्रलाई उद्धारको खाँचो छ । यिनको उद्धार गरी उपाचार हुन सके यिनले नयाँ जीवन पाउने थिए कि ?

प्रतिकृया दिनुहोस्