हाम्रो देश
८ बैशाख २०७८, बुधवार

तत्काल सरकार बन्ने अवस्था नरहे चुनाव उत्तम विकल्प : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले तत्काल सरकार बन्ने अवस्था नरहे चुनाव उत्तम विकल्प भएको बताउनुभएको छ । शुक्रबार (आज) काठमाडौंमा आयोजित नेपाल निजामती कर्मचारी युनियन(संघ)को राष्ट्रिय भेलालाई सम्बोधन गर्दै सभापति देउवाले नयाँ सरकार गठनको प्रयासका लागि आफूले अन्य दलसँगको छलफललाई निरन्तरता दिएको भन्दै सरकार बन्न नसके चुनाव नै उपयुक्त विकल्प भएको बताउनुभएको हो ।

त्यस्तै उहाँले चुनावमा जानुपर्ने बाध्यता हुनसक्ने भन्दै त्यसका लागि कांग्रेस तयार हुनुपर्ने धारणा पनि राख्नुभयो । देउवाले पार्टीले कांग्रेसको नेतृत्वमा सरकार बनाउने निर्णय लिएकोमा धन्यवाद दिँदै देउवाले आफू नै प्रधानमन्त्री हुनुपर्छ भन्ने नरहेको स्पष्ट पार्नुभयो ।

कांग्रेस सभापति देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका कारण अहिलेको राजनीतिक अवस्था आइपरेको बताउनुभयो । आमनिर्वाचन लगत्तै आफूले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेपनि बाम एकता भन्दै प्रचण्डले नै ओलीलाई सत्ता सुम्पेको देउवाको भनाइ छ ।

त्यस्तै उहाँले संसदमा कांग्रेसको संख्या कम भएकाले बैठक समेत बोलाउन नसकेको उल्लेख गर्नुभयो । कार्यक्रममा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि उपयुक्त विकल्प दिनुपर्ने बताउनुभयो । दलहरुबीच जसरी सहमति बन्छ त्यसरी अगाडि बढ्नुपर्ने उहाले बताउनुभयो । जोखना हेरेर अवसरलाई गुमाउन र पछि टाउकोमा हात राख्ने अवस्था आउन दिन नहुने उहाको भनाइ छ ।

त्यस्तै कांग्रेस उपसभापति विमलेन्द्र निधीले जसपालाई सहमतिमा ल्याएर सरकार गठनको प्रयास कांग्रेसले गर्नुपर्ने बताउनुभयो । उहाँले प्रधानमन्त्री ओलीलाई पदबाट हटाउनु अहिलेको आवश्यकता र चूनौती रहेको जिकिर गर्नुभयो । कार्यक्रममा कांग्रेस नेता गगन थापा, कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा लगाएतले मुलुकलाई निकाश दिनका लागि कांग्रेस गम्भीर भएर निर्णय लिनुपर्ने बेला आएको धारणा राखेका थिए ।

प्रतिकृया दिनुहोस्