हाम्रो देश
१३ असार २०७९, सोमवार

२०७८ : कार्यकर्तालाई नयाँ नेता र जनतालाई शासक छान्ने अवसर

काठमाडौं नेपाली राजनीति चार दशकदेखि एउटै घेरामा फन्को मारिरहेको छ। २०४६ सालको बहुदल ल्याउँदा जो विभिन्न दलको उपल्लो पदमा थिए, उनीहरू अझै ओर्लिएका छैनन्। पार्टी र देशको नेतृत्वमा त्यही पुस्ता अझै पलेंटी मारेर बसिरहेको छ।

यी चार दशकमा घटना नयाँ भए। तर, अनुहार तिनै रहे। तिनै पात्रले राजनीतिमा उस्तै गुत्थी बाँधिरहन्छन्। आफैंले पारेको गुत्थी फुकाउन आफैं सक्रिय हुन्छन्। त्यसैलाई सफलता ठानेर मस्तमगन हुन्छन्।

समयक्रममा तिनै पात्र ‘असक्षम’ ठहरिन्छन्, तिनै पात्रमा आशाको उज्यालो देख्नुपर्ने हुन्छ। जुन व्यक्तिलाई ‘कठपुतली’ करार गरिन्छ, तिनै पात्रसँग प्रेम बस्ने अवस्था सिर्जना भइदिन्छ। कुनै समय भयंकर प्रगतिशील र राष्ट्रवादी ठानिएकाहरू बनिदिन्छन्, घोर प्रतिगामी, दक्षिणपन्थी। यसबाट आजितहरूलाई २०७८ सालले उम्किने ‘अवसर’ दिएको छ।

यो वर्ष राजनीतिमा ‘नयाँ नेतृत्व’ चयनको वर्ष बन्दैछ। संयोगले ठूला दुवै पार्टी नेपाली कांग्रेस र नेकपा एमालेले महाधिवेशन गर्दैछन्। माओवादी केन्द्रभित्र पार्टीको नाम मात्रै होइन, कार्यशैली परिवर्तनको बहस चलिरहेको छ। यही वर्ष देशमा आम निर्वाचन हुने सम्भावना बढिरहेको छ।

विकल्प खोज्ने हुटहुटी

२०७८ ले आँगन टेकिरहेको बखत देशमा प्रदेश र केन्द्र सरकार परिवर्तन गर्ने प्रक्रिया चलिरहेको छ। प्रधानमन्त्री केपी शर्मा ओली विकल्पको सरकारका लागि सत्तारूढ माओवादी मात्रै होइन, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस पनि कसरत गरिरहेको छ। नेकपा एमालेका नेताहरूले नेतृत्व गरिरहेको प्रदेश सरकार परिवर्तन गर्ने प्रक्रिया केन्द्र भन्दा केही द्रुत देखिन्छ।

प्रदेशमा नेतृत्व परिवर्तनमा पहिलो हुने अवसर गण्डकीले प्रदेशले पाउने सम्भावना २०७८ वैशाख १ गते बलियो बनेको छ। वर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको विपक्षमा उभिने दलले ‘बहुमत’ पुर्‍याएका छन्।

अवस्थाले अल्पमतमा पुगिसकेका प्रधानमन्त्री ओलीको सरकारलाई प्राविधिक र गणितीय खाँबाहरूले टिकाइरहेको छ। ओलीको सरकार जुनसुकै बेला ढल्ने वा कामचलाउ हुने देखिन्छ।

‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा)’को छिन्नभिन्नतापछि बलियो दल बन्ने नेपाली कांग्रेस नेतृत्व परिवर्तनको संघारमा छ। आगामी भदौभित्रै नयाँ नेतृत्व चयन गर्ने कार्यतालिका अनुसार कांग्रेस अघि बढेको छ। अहिले ‘मतदाता’ टुंग्याउने कार्य जोडतोडका साथ चलिरहेको छ। कांग्रेस कार्यकर्तामा नयाँ नेतृत्वको प्यास जागेको धेरै वर्ष भइसकेको छ। तर, हरेक महाधिवेशन नयाँ बोतलमा बासी पानी भर्ने प्रक्रिया मात्रै बनिरहेका छन्। नयाँ क्रियाशील सदस्यमा नयाँ पुस्ताको उलेख्य संख्या देखिएको कांग्रेस नेताहरूले बताउन थालेका छन्। नेतृत्वमा अर्को पुस्तामा आउनुपर्ने बहस पनि सँगै चलिरहेको छ।

सभापतिका लागि वर्तमान सभापति शेरबहादुर देउवाका साथै रामचन्द्र पौडैल, विमलेन्द्र निधी, शेखर कोइराला, शशांक कोइराला, कृष्ण सिटौला, प्रकाशमान सिंहलगायत दाबेदार छन्।

कांग्रेस महाधिवेशन केन्द्रित गतिविधि बढ्दै जाँदा २०७७ साल साउन २७ गते नयाँ पुस्ताका १२ जना नेताले ‘कांग्रेसको नेतृत्व लिन तयार’ रहेको भन्दै विज्ञप्ति जारी गरेका थिए। कांग्रेसले प्राप्त गरेको ऐतिहासिक विरासत–गौरवलाई जोगाउन र थाम्न वर्तमान नेतृत्व असमर्थ भएको उनीहरूले उल्लेख गरेका थिए।

उनीहरूले त्यो समय भनेका थिए, ‘अहिले देखिएका सम्पूर्ण चुनौतीको सामना गर्दै समाजले उठाएका शंका उपशंकाको निवारण गर्दै हर प्रश्नको जवाफसहित राष्ट्र, लोकतन्त्र र पार्टीलाई सही दिशा प्रदान गर्न आवश्यक पर्दा हामी नेतृत्व लिन समेत तयार छौं भन्ने कुरा स्पष्ट पार्न चाहन्छौं।’

हस्ताक्षरकर्तामा चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, गगन थापा, गुरुराज घिमिरे, बद्री पाण्डे, रत्ना शेरचन, जीवन परियार, प्रदीप पौडेल, सरिता प्रसाईं, रामकृष्ण यादव र किरण यादव थिए। उनीहरू जस्तै कांग्रेसमा नयाँ पुस्ताको नेतृत्व गर्ने चाहना पूरा होला? यसको उत्तर आगामी भदौभित्र हुनेछ। कांग्रेसले भदौभित्र महाधिवेशन गर्नैपर्ने संवैधानिक बाध्यता छ।

सत्तारूढ दल नेकपा एमालेले पनि २०७८ मंसिर २ देखि ६ सम्म महाधिवेशन मिति तोकेको छ। केन्द्रीय कमिटी महाधिवेशन आयोजक कमिटीमा परिणत भइसकेको छ। नेकपा एमालेको नवौं महाधिवेशनले ७० वर्षको उमेरपछि कुनै पनि कार्यकारी पदमा रहन नपाउने व्यवस्था गरेको थियो। तर, पार्टी विधानमा रहेको उक्त व्यवस्थालाई केही दिनअघि एमालेको केन्द्रीय कमिटी बैठकले खारेज गरेको छ। ‘परिवर्तित सन्दर्भ अनुकूल बनाउन बाधा अड्काउ फुकाउ गर्ने निर्णय गरिएको छ’, उक्त निर्णयमा भनिएको छ।

नयाँ नेतृत्व चयनको संघारमा रहेको एमालेले ‘नयाँ नेता’ पाउने सम्भावनालाई यो निर्णयले कमजोर तुल्याएको छ। तर, असम्भव नै छैन। गत फागुन ११ गते ७० पुगेका अध्यक्ष तथा प्रधानमन्त्री ओलीले आफ्ना भाषण र अन्तर्वार्तामा ‘नयाँ पुस्तालाई नेतृत्व दिन तयार’ बताउँदै आएका थिए। त्यो भाषणमै सीमित रहन्छ वा कार्यान्वयन गर्छन्? उनी प्रश्नको घेरामा छन् भने एमालेका कार्यकर्ता र नयाँ पुस्ताका नेताहरू परीक्षाको घडीमा छन्।

नेकपा बन्न हिँडेका माओवादी केन्द्र नेताहरू फागुन २३ को सर्वोच्चको फैसलापछि दुई वर्षअघि धकेलिएका छन्। नयाँ बाटो तय गरिसकेका माओवादी नेता कार्यकर्तालाई पुरानै ठाउँ आइपुग्ने अवस्थाले सहज बनाइरहेको छैन। पार्टीभित्र नाम र कार्यशैली परिवर्तनको बहस जारी छ। यथास्थितिमै अघि बढ्न सकिने सम्भावनामा उनीहरू आफैं ‘कन्भिन्स्ड’ हुन सकिरहेका छैनन्। यस्तो परिस्थितिमा आफैंबाट छुट्टिएर बनेका केही पार्टीहरू र आफूसँग भावना मिल्ने अन्य पार्टीका नेता-कार्यकर्ता समेटेर नयाँ पार्टी बनाउने उत्कट चाहना उनीहरूमा पलाएको छ। त्यो परिस्थिति २०७८ ले सिर्जना गर्न सक्छ। अध्यक्ष प्रचण्डको विकल्पमा अर्को नेता उक्त पार्टीले अहिल्यै परिकल्पना गरिसकेको छैन। त्यसैले नेतृत्वभन्दा पनि नीति परिवर्तन हुन सक्ने सम्भावना बढी देखिन्छ।

गएको वर्षले नेकपा एमालेमै ‘अर्को पार्टी’को ब्याड-बेर्ना तयार गरेर गएको छ। एमाले वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालको नेतृत्वमा देशभर एमालेका समानान्तर कमिटीहरू गठन भइसकेका छन्। जनवर्गीय संगठनमा पनि आफ्नै कमिटी निर्माण भएका छन्। यो ‘ब्याड-बेर्ना’का लागि अनुकुल राजनीतिक मौसम यस्तै रह्यो भने यो वर्ष एमाले विभाजनको दृश्य देख्नुपर्नेछ। देशले अर्को नयाँ पार्टी प्राप्त गर्नेछ। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको लवजअनुसार चाहिँ अर्को बिहेका लागि पूर्वपतिसँग गरिएको ‘डिभोर्स’ जस्तै हुन पनि सक्छ यो!

२०७८ ले दिने उत्तर

यो वर्ष राजनीतिमा देखिने यी मुख्य नयाँ दृश्य हुन्। राजनीतिक परिदृश्यले अर्को जनाउ दिइसकेको छ, आम निर्वाचन। तीन वर्षअघि भएका समीकरणमा गएको वर्ष उथलपुथल आएपछि सत्ता पक्ष र प्रतिपक्ष दुवै निर्वाचनका लागि ‘उत्साही’ छन्। सत्तारूढ नेकपा एमालेका अध्यक्ष ओलीलाई प्रतिनिधि सभा विघटन स्वभाविक थियो भन्ने प्रमाणित गर्न निर्वाचन गर्नैपर्नेछ। प्रतिपक्ष नेपाली कांग्रेस सभापति देउवालाई नेकपा टुक्रिएकै मेसोमा कांग्रेसलाई ठूलो दल बनाउने लालसा पलाएको छ। ठूला दुवै दलको फरक स्वार्थ तर, एउटै अजेन्डा भएका कारण निर्वाचनको सम्भावना धेरै छ।

निर्वाचनले देशलाई थप केही नेताहरू दिनेछ। विभिन्न पार्टीबाट विभिन्न व्यक्तिहरू चुनावी मैदानमा हुनेछन्। उनीहरूमध्ये राम्रो छान्ने कि हाम्रो, बोतल नयाँ छान्ने कि पानी, नेता रोज्ने कि पार्टी? जस्ता सवालको उत्तर खोजिनेछ।

नेपालीको आम स्वभाव छ, वेटरले मेन्यु नल्याउँदासम्म गुनासो गरिरहने, मेन्यु हातमा आएपछि सर्रर हेरेर टेबलमा राख्दै म:म र चाउनमिनमध्ये एउटा मगाउने! नयाँ नेतृत्व छान्ने सवालमा विभिन्न पार्टीका कार्यकर्ता र नयाँ शासक छान्ने सवालमा नेपाली जनताले यही स्वभाव पछ्याउँछन् कि बदल्छन्? २०७८ ले यसको उत्तर दिनेछ।