हाम्रो देश
४ जेष्ठ २०७८, मङ्गलवार

गृहमन्त्री थापाको सांसद र मन्त्री पद चैट !

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’को राष्ट्रिय सभा सांसद र मन्त्री पद दुवै गुमेको छ । नेकपा माओवादी केन्द्रले बादलमाथि कारवाही प्रक्रिया अघि बढाई संसद सदस्य रिक्त गर्न लिखित पत्र दिए अनुसार पद रिक्त भएको राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले जानकारी दिए ।

थापा बागमती प्रदेशबाट राष्ट्रिय सभा सांसद बनेका थिए । अदालतको फैसलाबाट नेकपा छुट्टिएर साविकको पूर्वएमाले र पूर्वमाओवादीमा रूपान्तरण हुँदा थापाले एमाले रोजेका थिए । थापाको पद गुमेपछि अब उनले मन्त्री बन्न पुन: संविधानअनुसार सपथ लिनुपर्छ।

यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीको पक्षमा लागेका माओवादी केन्द्रका प्रतिनिधि सभाका सांसदहरूको पद पनि खारेज भएको थियो । मन्त्रीसमेत रहेका लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरीको सांसद पद गुमेको हो। सांसद पद गुमेपछि प्रधानमन्त्री ओलीले उनीहरूलाई फेरि ६ महिनाका लागि मन्त्री बनाएका छन्। बादललाई प्रधानमन्त्रीले पुनः मन्त्री नियुक्त गर्ने बताइएको छ । रिक्त राष्ट्रियसभा सदस्य पदका लागि ३५ दिनभित्र उपनिर्वाचन हुनेछ ।