हाम्रो देश
१९ असार २०७९, आइतवार

मुख्यमन्त्री शेरधनको पद धरापमा

विराटनगर । कर्णाली प्रदेशमा नेकपा एमालेका चार सांसदले ‘फ्लोर क्रस’ गर्दै नेकपा माओवादी केन्द्र नेतृत्वको सरकार जोगाइदिएपछि प्रदेश १ मा पनि तरङ्ग उत्पन्न भएको छ । प्रदेश १ मा सत्तारुढ दल नेकपा एमाले पूर्ण बहुमतमा रहे पनि पार्टीभित्रको शक्ति संघर्षका कारण ढुक्क हुन सक्ने अवस्था नरहेको कर्णाली प्रकरणले देखाइसकेको छ ।

प्रदेश १ को ९३ सदस्यीय प्रदेशसभामा माओवादी केन्द्रका एक सांसद कारवाहीमा परेपछि ९२ सांसद कायम छन् । बहुमतका लागि कम्तीमा पनि ४७ सांसदको समर्थन आवश्यक पर्छ । प्रदेशसभामा सत्तारुढ नेकपा एमालेका ५१ सांसद छन् । तीमध्ये खनाल–नेपाल पक्षमा २० सांसद छन् । काँग्रेसका २१, माओवादी केन्द्रका १५, जनता समाजवादी पार्टीका ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाका एक÷एक सांसद छन् ।