हाम्रो देश
१२ असार २०७९, आइतवार

चुनावअघि नै एमालेको माधव समूह र माओवादी केन्द्रबीच एकता

नेकपा माओवादी केन्द्रले एमालेको माधवकुमार नेपाल समूहसँग पार्टी एकताका लागि वार्ता भइरहेको खुलासा गरेको छ । माओवादीका एक प्रभावशाली नेता देवेन्द्र पौडेलले माधव समूहसँग पार्टी एकताका लागि निरन्तर छलफल र संवादहरु भइरहेका बताउनुभएको हो ।

एमालेको माधव कुमार नेपाल समूहले जुनसुकै बेला पार्टी फुट्न सक्ने भएकोले तयारी हालतमा रहन कार्यकर्तालाई निर्देशन दिएको भोलिपल्ट माओवादी केन्द्रका नेता पौडेलले माधव समूहसँग पार्टी एकताका लागि वार्ता भइरहेको जानकारी दिनुभएको हो ।

पछिल्ला दिनहरुमा माधवकुमार नेपाल र प्रचण्डबीच भइरहेका वार्ताहरु पार्टी एकताका सन्दर्भमा केन्द्रीत रहेका पौडेलले बताउनुभयो । उहाँले आगामी चुनाव भन्दा अघि नै माधव समूहसहित पूर्व माओवादीका सबै घटकहरुसँग पार्टी एकता गरिसक्ने गरी तयारी भइरहेको जानकारी दिनुभयो ।

हिजो एमालेको माधव नेपाल समूहका नेता भीम रावलले जुनसुकै बेला पार्टी फुट्न सक्ने भएकोले तयारी हालतमा रहन कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको थियो ।

धनगढीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता रावलले एमाले पार्टी र सूर्य चिन्हबिना नै आफूहरुले निर्वाचनमा जानुपर्ने हुन सक्ने बताउनुभएको थियो । माओवादी केन्द्रको चुनाव चिन्हमा पनि मतदान गरेको भएर नै अघिल्लो चुनावमा बहुमत आएको प्रसंग निकाल्दै उहाँले पार्टीको नाम र चुनाव चिन्ह नयाँ पनि हुन सक्ने संकेत गर्नुभएको थियो ।

सर्वाेच्चको फैसलाले माओवादी र एमालेलाई आ–आफ्नो गुँडमा फर्काइदिएपछि बुटवलमा अगुवा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधव नेपालहरुले सके एमाले कब्जा गर्ने अन्यथा विद्रोह गर्ने दाबी गर्नुभएको थियो । एमाले अब सिंगै एक भएर रहनै नसक्ने प्रचण्डको विश्लेषण थियो ।

एमालेभित्र चलेको अन्तरसंर्घषको परिणाम अन्ततः प्रचण्डले भनेझैँ एमाले विभाजन हुने र माओवादीसँग माधव समूहको एकता हुनेतर्फ अग्रसर बनिरहेको देखिन्छ ।

माधवकुमार नेपालले आज काभ्रेमा समानान्तर कमिटि घोषणा गर्ने क्रममा एमालेमा नरहन सकिने तर कम्युनिष्ट आन्दोलन जोगाउने आफूहरु नै रहेको दाबी गर्नुले पनि माओवादीसँग माधव समूहको एकता हुन सक्ने कुरामा थप बल दिएको छ ।