हाम्रो देश
११ असार २०७९, शनिवार

मास्क नलगाउनेलाई जिल्ला प्रशासन कार्यालय थाल्यो कारबाही

बीरगंज, (पर्सा) । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकामा मास्क नलगाउनेहरुलाई कारवाही सुरू गरेकाे छ । कोरोना संक्रमण फैलिरहेको समयमा मानिसहरुमा बढ्दै गएको लापरवाहीलाई नियन्त्रण गर्न महानगरले आईतबारबाट मास्क नलगाउनेहरु माथि कारवाहिको प्रकिया सुरु गरेको हो ।

जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुब गिरीका अनुसार बीरगंज महानगरमा बढ्दै गएको जोखिम र पटकपटकको आह्वानका बाबजुत आम नागरिकको हेलचर्काई कायमै रहेकोले संक्रामक रोग ऐन २०२० बमोजीम मास्क नलाउनेहरुलाई जरीवाना बापत १०० रुपैया असुल्ने र त्यसको सट्टामा मास्क उपलब्ध गराउने कार्य सुरु गरिएको हो ।

पर्सा जिल्लामा दिन प्रतिदिन कोरोना संक्रमितहरुको संख्या बढ्दै गएको नारायणी अस्पतालको तथ्यांकले देखाएको छ । आइतबारमात्र पर्सा जिल्लामा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमणको संख्या बढिरहदा समेत मानिसहरुले सावधानी अपनाएको पाईदैन ।

जिल्ला प्रशासन कार्यालयले मास्क नलगाएकालाई जरीवाना स्वरुप कारवाही गरेपनि मानिसहरु अझैपनि सचेत भएको पाईदैन । पर्साका साहायक प्रमुख जिल्ला अधिकारी गिरीले जनशक्तिको अभाव भएको कारणले गर्दा सिमित जनशक्तीमा काम गर्नु परेको बताउनुभयो ।

प्रत्येक मानिस र प्रत्येक वडाहरुमा कडाई गर्न आफूहरुसंग जनशक्ति नभएको कारण प्रभावकारी हुन नसकेको गिरीले बताउनुभयो । कोरोना रोकथाम तथा नियन्त्रणमा स्थानीय प्रशासन भन्दा पनि आम नागरिकको भुमिका महत्वपूर्ण हुने कुरामा जोड दिनुभयो साथै सबैलाई स्वास्थ्य मापदण्ड पालना गर्न पनि अनुरोध गर्नु भएको छ ।