हाम्रो देश
१९ असार २०७९, आइतवार

विराटनगरमा बढ्यो कोरोनाको जोखिम

प्रदेश १ को राजधानी विराटनगर कोरोनाभाइरस संक्रमणको ‘हट स्पट’ बन्न थालेको छ । दिनहुँ संक्रमित हुनेको संख्या प्रदेशका अन्य स्थानको तुलनामा विराटनगरमा उच्च बनेको छ ।
चैत २४ गते यता शुक्रबारसम्म विराटनगरमा कुल २५३ जना संक्रमित फेला परेका छन् । यसमा सक्रिय संक्रमित २१५ जना छन् । यसमध्ये प्रदेशको राजधानी विराटनगरमा मात्र १३८ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

११ दिनअघि प्रदेशभर कुल ४३ जनामात्रै संक्रमित थिए । मोरङमा सबैभन्दा धेरै ६३ जना संक्रमित थिए भने विराटनगर महानगरपालिका मात्रै ५६ जना संक्रमित थिए ।

यो अवधिमा सुनसरीमा २६, झापामा १८, उदयपुरमा २, संखुवासभामा ३, पाँचथरमा १ र प्रदेश बाहिरका ८ जनामा संक्रमण देखिएको थियो । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार केही दिनयता संक्रमितको संख्या निरन्तर बढिरहेको छ । कोरोना संक्रमितको दर केही महिना यता सुस्ताएकोमा पुनः नयाँ बिरामी भेटिन थालेका हुन् । नयाँ संक्रमित फेला पर्न थालेपछि विराटनगरस्थित कोशी कोभिड अस्पताल पुनः सञ्चालनमा ल्याइएको छ ।

दोस्रो लहर सुरु भएसँगै कोरोना जाँच गर्न आउनेको संख्या र पोजेटिभ केस पनि बढेको कोशी अस्पताल विराटनगरका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर चुमनलाल दासले बताए ।

संक्रमण बढेपछि महानगरभित्र कन्ट्याक्ट ट्रेसिङको काम सुरु गरिएको विराटनगर महानगरपालिका जनस्वास्थ्य शाखा संयोजक रमेश कार्कीले बताए । प्रदेश १ सरकारले संक्रमितको संख्या शून्यमा झरेपछि अस्पतालमा कार्यरत करारका कर्मचारीलाई दुई हप्ताअघि बिदा गरेको थियो । अहिले सो अस्पतालमा ९ जना उपचाररत छन् । चैत २५ गतेसम्म अस्पतालमा जम्मा एकजना बिरामीमात्रै उपचाररत थिए । अहिले दैनिकजसो अस्पतालमा संक्रमित भर्ना हुने क्रम बढेको छ ।