हाम्रो देश
४ जेष्ठ २०७८, मङ्गलवार

दैलेखमा कोरोना संक्रमण तीव्र, तयारी सुस्त

दैलेख : भैरबी गाउँपालिकाका एक युवक गत चैत्र अन्तिम साता भारतबाट जन्मथलो फर्किए । दुई महिनाअघि मात्रै उनी मजदुरीका लागि त्यहाँ पुगेका थिए। गुजरात प्रदेशको सुरत सहरबाट फर्किने क्रममा बाँकेको नेपालगञ्जस्थित जमुनाह नाकामा सामान्य सोधपुछ मात्रै भयो । उनी सुर्खेतहुँदै गाउँ पुगे । गाउँ पुगेपछि उनलाई स्वास्थ्य समस्या देखिन थाल्यो । ‘एन्टिजेन’ विधिमार्फत कोरोना परीक्षण गर्दा पोजेटिभ देखियो । अहिले उनी दैलेख अस्प्तालको आइसोलेसनमा उपचाररत छन् ।

दुल्लु नगरपालिका–२ नाउलेकटुवालस्थित वडापोखराका ३८ वर्षीय पुरुष गत शुक्रबार जन्मथलो फर्किए । भारतको मुम्बईबाट गाउँ फर्किएका ती पुरुषको शनिबार मृत्यु भयो । घर आइसकेपछि स्वास्थ्यमा गम्भीर समस्या देखिन थालेपछि उनलाई दुल्लु अस्पताल पुर्‍याइएको थियो। अस्पतालले सुर्खेत रिफर गरेपनि अस्पतालमै निधन भयो । भारतमै संक्रमण देखिए पनि उनले कसैलाई भनेका थिएनन् । गम्भीर अवस्थामा अस्पताल पुगेको र सुर्खेत रिफर गरेर लैजान नपाउँदै मृत्यु भएको दुल्लु अस्पतालकी डा. रञ्जना रोकायले बताइन् ।

संक्रमितको मृत्युपछि ५ स्वास्थ्यकर्मी आइसोलेसनमा बसेका छन् । सोही दिन नारायण नगरपालिका–१ की ६७ वर्षीया वृद्धाको नेपालगन्जस्थित भेरी अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

नारायण नगरपालिका–९ बास्कोटका एक महिला उनका ६ महिने शिशु, अहिले दैलेख अस्पतालको आइसोलेसनमा उपचाररत छन् । ती महिलाका श्रीमान भारतबाट फर्किएका थिए । भारतबाट फर्किएका श्रीमानबाट महिला र शिशुमा संक्रमण सरेको हुनसक्ने स्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमुख थीरप्रसाद रेग्मीले बताए । आठबीस नगरपालिका–३ का एक महिला पतिसँगै भारतबाट फर्किइन् । भारतबाट फर्किएको केही दिनमै परीक्षण गर्दा कोरोना संक्रमण देखिएपछि उनी होम आइसोलेसनमै छिन् ।

पछिल्लो समय छिमेकी मुलुक भारतमा कोरोना संक्रमण दिनदिनै तीव्र गतिमा बढिरहेको छ । जसका कारण रोजगारीका लागि भारतका विभिन्न ठाउँमा पुगेका व्यक्तिहरु घर फर्कने क्रममा छन् ।

कोरोना त्रासका कारण घर फर्कनेहरुबाटै कोरोना भाइरस (कोभिड–१९) को जोखिम उच्च छ । ‘जिल्लामा भारतबाट फर्किनेहरुको संख्या उच्च छ, यद्धपी कसैले पनि भारतबाट फर्किएको हुँ भन्दैन, त्यसले पनि जोखिम बढाएको छ,’ स्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमुख थीरप्रसाद रेग्मी भन्छन् । भारतबाट फर्किनेहरुले जिल्ला भित्रिने नाकाहरुमा सरकारी निकायलाई छल्दै जिल्ला भित्रिन थालेका छन् ।

हाल जिल्लामा सक्रिय संक्रतिको संख्या ८ जना छ । ६ महिने शिशुसहित चारजना दैलेख अस्पतालको आइसोलेसनमा छन् भने ४ जना होम आइसोलेसनमा छन् । ती मध्ये अधिकांश संक्रमित भारतबाट फर्किएका हुन् । भारतबाट लुकिछिपी र नाकामा छलेर गाउँ छिर्नेहरुकै कारण समुदायस्तरमा कोरोना संक्रमण फैलिएको छ ।

पीसीआर ल्याब र आइसोलेसन सञ्चालनमा कठिनाइ

भारतमा तीव्र गतिमा बढेको संक्रमणले दैलेख जिल्ला प्रभावित भएपनि रोकथाम, नियन्त्रण र उपचारका लागि गर्नुपर्ने तयारी सुस्त छ । जिल्लाको पीसीआर प्रयोगशाला र आइसोलेसन अस्पताल नै सञ्चालनमा समस्या छ । ‘एकातिर पीसीआर ल्याब सञ्चालनका लागि सरकारले हामीलाई अनुमति छैन, स्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमुख थीरप्रसाद रेग्मी भन्छन्, ‘अर्कोतर्फ बजेट अभाव छ ।’

यद्धपी पीसीआर ल्याब सञ्चालनमा आफूहरु तयारी अवस्थामा रहेको उनले बताए । जिल्लामा अहिले शंकास्पद् बिरामीलाई एन्टिजेन विधिबाट परीक्षण गर्ने गरिएको छ । कोरोना संक्रमितको उपचारका लागि स्थापना गरिएको आइसोलेसन अस्पताल भने बजेट सुनिश्चिता नहुँदा सञ्चालनमा कठिन भएको छ । हाल उपचाररत विरामीहरुका लागि समेत नियमित हेरचाह र चेकजाँचका लागि स्वास्थ्यकर्मी र कर्मचारी खटाईएको छैन् । बेला–बेला दैलेख अस्पतालका स्वास्थ्यकर्मी र डाक्टरले चेकजाँच गर्ने गरेका छन् ।