हाम्रो देश
११ असार २०७९, शनिवार

बाँकेमा थप दुई संक्रमितको उपचारका क्रममा मृत्यु

नेपालगञ्ज, बैशाख ७ गते । कोरोनाको दोस्रो लहरमा शुरुमै हटस्पट बनेको बाँके जिल्लाका थप दुई जना संक्रमितको उपचारकै क्रममा मृत्यु भएको छ । बाँकेको कोहलपुर नगरपालिकाका दुई जना संक्रमितको नेपालगञ्ज मेडिकल कलेजको शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

केन्द्रका अनुसार मृत्यु हुनेहरुमा कोहलपुर–२ बर्दहवाकी ३५ वर्षीया महिला र सोही वडाकै ७७ वर्षीय पुरुष रहेका छन् । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार ३५ वर्षीया महिलाको सोमबार दिउँसो नै नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारकै क्रममा मृत्यु भएपनि उनको पीसीआर रिपोर्ट भने राती मात्र पोजेटिभ भनेर आएको थियो ।

स्वास्थ्य समस्या आएपछि उनलाई सोमबार बिहान मात्र मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । तर पीसीआर रिपोर्ट नआउँदै उनको मृत्यु भएपनि पीसीआर रिपोर्ट आइसकेपछि गएराती मात्रै उनको मृत्यु बारे जानकारी सार्वजनिक गरिएको थियो ।

यसैगरि गए राती नै कोहलपुर–२ का ७७ वर्षीय संक्रमित पुरुषको पनि मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि उनलाई उपचारका लागि सोमबार बिहान मेडिकल कलेज पुरयाइएको थियो । पीसीआर परीक्षणको लागि स्वाब दिएर घर लगिएपछि साँझ रिपोर्ट पोजिटिभ आएकोले उपचारका लागि अस्पताल ल्याउँदै गर्दा अस्पतालको गेटैमा उनको मृत्यु मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन पर्सन ओलीले बताउनुभयो । उहाँले योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बाँकेमा ६३ जना पुगेको पनि बताउनुभयो ।