हाम्रो देश
११ असार २०७९, शनिवार

वैशाख महिनासम्म मठमन्दिर प्रवेशमा रोक

बागलुङ । बागलुङमा कोरोना भाइरसको दर बढ्दै गएपछि उच्च सतर्कता अपनाउन थालिएको छ । प्रमुख जिल्ला अधिकारीका अध्यक्षतामा मङ्गलबार बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिको बैठकले कोरोना जोखिमलाई ध्यानमा राखी भीडभाड कम गर्न र कोरोना नियन्त्रणका लागि मठमन्दिर प्रवेशमा वैशाख महिनासम्म रोक लगाएको छ । आन्तरिक पर्यटकको भीड हुने कालिका मन्दिर, पञ्चकोट, राम मन्दिरलगायत स्थानमा वैशाख मसान्तसम्म प्रवेशमा रोक लगाइएको प्रजिअ शिवकुमार कार्कीले जानकारी दिनुभयो ।

यस्तै बैठकले पार्टी प्यालेस, डान्स बार, सिनेमा हल, आमसभा, जिमहललगायत भीडभाड हुने स्थानसमेत वैशाख मसान्तसम्म पूर्णरूपमा बन्द गर्ने निर्णय गरेको प्रजिअ कार्कीले जानकारी दिनुभयो । मास्कविना कार्यालय र पसलमा प्रवेश गर्न रोक लगाउने र होटल तथा रेष्टुराँ बिहान ८ देखि बेलुका ८ बजेसम्म सञ्चालन गर्ने निर्णयसमेत गरिएको छ ।

यस्तै प्रशासनले बलेवामा कोरोना जोखिम बढेको जनाउँदै वडा नं १२, १३ र १४ मा वैशाख १७ गतेसम्म निषेधाज्ञा जारी गर्नेसमेत निर्णय गरेको छ । बागलुङ –१४ को जनताधन माध्यमिक विद्यालयका १९ विद्यार्थी र दुई शिक्षकसहित सोही वडाका अन्य १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि सतर्कता अपनाउन थालिएको हो ।