हाम्रो देश
१२ असार २०७९, आइतवार

वडा कार्यालयबाट हराएको ५३ लाख अझै पत्तो लागेन

नुवाकोटको पञ्चकन्या गाउँपालिका– २ को कार्यालयबाट हराएको सामाजिक सुरक्षा भत्ताबापतको ५३ लाख रुपैयाँ अझै पत्तो लाग्न सकेको छैन । गत २४ चैतमा कविलासस्थित वडा कार्यालयबाट ५३ लाख रुपैयाँ हराएको थियो ।

२५ चैतमा सामाजिक सुरक्षा भत्ता वितरण गर्न भनी २४ गते कार्यालय पुर्‍याइएको रकम हराएको हो । २४ चैतमा विदुरस्थित नेपाल बैंकबाट ल्याएर राखिएको ५० लाख र वडा कार्यालयमा राजस्वलगायतबाट जम्मा भएको तीन लाख गरी ५३ लाख रुपैयाँ हराएको पञ्चकन्या गाउँपालिका वडा नम्बर २ का अध्यक्ष ध्रुव मिश्रले बताए । ‘गेटको ताला, कार्यालयको मुख्य ढोका, पैसा राखेको दराज भएको कोठा र दराजको ताल्चा खोलेर पैसा निकालिएको देखिन्छ,’ वडाअध्यक्ष मिश्रले भने ।

ताल्चा फोर्न ढोकामा प्रहार गरिएको दाग नदेखिएको तथा ताल्चा पनि फेला नपरेको हुँदा घटना शंकास्पद रहेको भन्दै प्रहरीले अनुसन्धान अघि बढाएको छ । वडा कार्यालयसँग राम्रोसँग परिचित व्यक्तिबाटै घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ । सिसिटिभी फुटेजमा मास्कसहित पूरै शरीर ढाक्ने लुगा लगाएको मानिसले आठ–दश मिनेटमै पैसा निकालेर लगेको देखिएको छ ।

घटनामा संलग्न भएको आशंकामा प्रहरीले वडासचिव सरिता रावत, कार्यालय सहायक रामकुमार गिरी र कार्यालय सहयोगी नीलप्रसाद मिश्रलाई पक्राउ गरेको छ । घटनाको अनुसन्धान भइरहेकाले दोषी चाँडै पत्ता लाग्ने जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिल पण्डितले बताए ।

वडाअध्यक्ष मिश्रले कर्मचारीको लापरबाहीले रकम हराएको बताए । गाउँमा बैंक नभएका कारण वेला–वेलामा जम्मा हुने रकम वडा कार्यालयमै राख्ने गरिएकाले घटना भएको उनले दाबी गरे । पञ्चकन्या गाउँपालिकाका लागि तोकिएको बैंकले पालिकाको केन्द्र लाँकुरी भञ्ज्याङमा शाखा सञ्चालन नगरी सहरेटारमा राखेकाले पालिकाले विदुरमा रहेको नेपाल बैंकको शाखामा कारोबार गर्दै आएको छ ।