हाम्रो देश
१४ असार २०७९, मङ्गलवार

दाङमा कोरोना सङ्क्रमितलाई भुईँमै राखेर उपचार गरिँदै

दाङ – दाङमा कोरोनाका बिरामीहरुलाई उपचार गर्न अस्पतालमा बेड नभएपछि अस्पतालको भुईँमै राखेर उपचार गर्न थालिएको छ । कोरोनाका बिरामीलाई उपचार गर्ने गरी स्थापना भएको प्रदेश स्तरीय कोरोना विशेष अस्पताल बेलझुण्डीमा क्षमता भन्दा बढी बिरामी भएपछि बेड अभाव हुँदा भुईँमै राखेर उपचार भइरहेकाे अस्पताल व्यवस्थापनले जनाएको छ ।

काेराेनाकाे पहिलाे लहरमा एक सय बेडमा सञ्चालन भएको कोरोना विशेष अस्पताल बेलझुण्डी अहिले भने २५ बेडमा मात्रै सीमित छ । कोरोना सङ्क्रमितको उपचारका लागि स्थापना गरिएको प्रदेशस्तरीय कोरोना विशेष अस्पताल बेलझुण्डी ‘हाउस फुल’ भए पनि उपचारको अर्को व्यवस्था भने हुन सकेको छैन ।

अस्पताल कोरोना सङ्क्रमित बिरामीले भरिँदा बेड अभाव भएको अस्पतालका व्यवस्थापक दोर्ण ओलीले जानकारी दिनुभयो । २५ बेडमा सञ्चालन भएको अस्पतालमा आन्तरिक व्यवस्थापनबाट ३८ बेड सम्म पुर्‍याएर सञ्चालन गरी बिरामीको उपचार गरिरहेको भए पनि अस्पतालमा आउने बिरामीको संख्या दिन प्रतिदिन बढ्दै गएपछि भुईँमा राखेर उपचार गर्नुपर्ने बाध्यता आएको ओलीले बताउनुभएको छ ।

पछिल्लो समय दाङमा कोरोना सङ्क्रमितको संख्या निकै बढेको छ । दाङमा अहिले २ सय ६७ जना र जिल्ला बाहिर ४१ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् । कोरोना सङ्क्रमण बढेसँगै दाङका अस्पतालमा बिरामीको चाप बढेको छ । दाङमा अस्पताल अभाव भएपछि कोरोना सङ्क्रमितको उपचार गर्न बुटवल र बाँकेसम्म लैजाने गरिएको छ । अहिलेसम्म दाङमा ५७ जना काेराेना सङ्क्रमितले ज्यान गुमाइसकेका छन् ।