हाम्रो देश
३ जेष्ठ २०७८, सोमवार

वीरगन्जमा कोरोना संक्रमण तीव्र : थप दुई जनाको मृत्यु, ७६ संक्रमित थपिए

वीरगन्ज : वीरगन्जमा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ। वीरगन्जको नारायणी अस्पतालमा उपचाररत वीरगन्ज महानगरपालिका र बारा दुई जना संक्रमितको मंगलबार बिहान मृत्यु भएको अस्पतालका कोभिड कोर्डिनेटर डाक्टर सरोज रोशन दासले जानकारी दिए।

वीरगन्ज महानगरपालिका -२५ सिर्सियाकी ६५ वर्षीया संक्रमित महिलाको बिहान ३ बजे मृत्यु भएको हो। निमोनियाले ग्रसित उनलाई उपचारका लागि सोमबार नारायणी अस्पतालमा भर्ना गरिएको थियो। सोमबार नै उनको एन्टिजेन विधिबाट कोरोनाको परीक्षण गर्दा उनको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो।

बाराको जीतपुर सिमरा उपमहानगरपालिका -२ की ४० वर्षीया महिलाको नारायणी अस्पतालमा मंगलबार बिहान साढे १ बजे मृत्यु भएको हो। नारायणी अस्पतालमा उपचारका लागि बैशाख ९ गते भर्ना गरिएकी ती महिलाको त्यहि दिन पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो।

उनमा कडा खालको निमोनियासहित श्वास प्रश्वासमा समेत समस्या देखिएको थियो। अस्पतालमा उपचारका क्रममा उनको मंगलबार बिहान मृत्यु भएको डाक्टर दासले जानकारी दिए। यसअघि सोमबार वीरगन्जमा एकैदिन कोरोनाले तीन जनाको मृत्यु भएको थियो।

७६ संक्रमित थपिए

वीरगन्जमा थप ७६ जना कोरोना संक्रमित थपिएका छन्। वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोशगलामा सोमबार राति १४० जनाको स्वाब नमूनाको पीसीआर परिक्षण गर्दा तीमध्ये ७६ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको हो।
सोमबार रातिको परीक्षणमा पर्साका ६४ र बाराका १२ गरी ७६ जनामा संक्रमण पुष्टि भएको नारायणी अस्पतालका कोभिड कोर्डिनेटर डाक्टर सरोज रोशन दासले जानकारी दिए।

संक्रमितहरू ५ वर्षदेखि ७० वर्ष उमेर समूहका ५५ पुरूष र २१ महिला रहेको डाक्टर दासले बताए। यसअघि आइतबार राति पनि नारायणी अस्पतालकै प्रयोगशालामा १४० जनाको स्वाब नमूना परीक्षण गर्दा ७० प्रतिशतमा अर्थात ९९ जनामा संक्रमण भेटिएको थियो।