हाम्रो देश
१२ असार २०७९, आइतवार

गण्डकी प्रदेश सभा बैठक भोलि बस्ने : पिसिआर रिपोर्ट पोजेटिभ आए पनि मतदान गर्न दिने सहमति

पोखरा । गण्डकी प्रदेशसभाको विशेष अधिवेशनको दोस्रो बैठक स्थगित भएको छ । मंगलबार बोलाइएको बैठक सुरुहुनुअघि नै सत्तारुढ दल एमाले सांसदको अवरोधका कारण स्थगित भएको हो ।

पिसिआर परीक्षण नगरी बैठक सुचारु गर्न नसकिने भन्दै सत्तारुढ दल नेकपा एमालेका सांसदहरु विरोधमा उत्रिएका थिए । सभामुखले पटक पटक बस्न र बैठक अघि बढाउने वातावरण सिर्जना गर्न अनुरोध गरे पनि उनीहरुले मानेनन् । त्यसपछि २० मिनेटका लागि भनेर स्थगित गरिए पनि पिसिआर परीक्षण गर्नैपर्ने अडान यथावत राखिए पछि प्रदेशसभा बैठक बुधबार बस्ने सहमति भएको छ ।

साथै, आजै सबै सांसदहरुको पिसिआर परीक्षण गरिने छ । र, पिसिआर परीक्षणको रिपोर्ट आए पछिमात्र बैठक बस्ने गरी बुधबार दिउँसो १ बजेका लागि प्रदेशसभा बैठक डाकिएको छ ।
साथै, सांसदहरुको पिसिआर रिपोर्ट पोजेटिभ आए सांसदलाई निजी सवारी साधनमा आएर प्रदेशसभामा अविश्वास प्रस्तावमाथिको मतदानमा भाग लिन दिइने जनाइएको छ । तर, बैठकमा भने सहभागी नगराइने पनि दलहरुबीच सहमति भएको छ ।