हाम्रो देश
१३ असार २०७९, सोमवार

कोरोना संक्रमित पूर्व राजा शाह दम्पतीको स्वास्थ्य अवस्थाबारे अस्पतालबाट आयो यस्तो जानकारी

काठमाडौं । कोरोना संक्रमण भई नर्भिक अस्पतालमा उपचाररत पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाहलाई अक्सिजनको सपोर्टमा उपचार गरिएको छ ।

अस्पतालले मंगलबार दिउँसो जारी गरेको सूचनाअनुसार कोरोनाबाट संक्रमितहरुमा हुनसक्ने श्वासप्रश्वासको समस्या जटिल नबनोस् भनेर पूर्वराजा र पूर्वरानीलाई अक्सिजनको सपोर्टमा उपचार गरिएको हो ।

पूर्वराजारानीसँगै अस्पताल भर्ना भएकी पूर्वअधिराजकुमारी प्रेरणा शाहलाई भनेअक्सिजनको सपोर्ट दिनु नपरेको अस्पतालले सूचनामा उल्लेख गरेको छ । तीनैजनाको अवस्था सामान्य र स्थिर रहेको छ ।

कोरोना संक्रमण पुष्टि भएपछि केही दिन होम आइसोलेसनमा बसेका पूर्वराजा, पूर्वरानी र पूर्वअधिराजकुमारी वैशाख १ गते अस्पताल भर्ना भएका थिए ।

त्यस्तै पछिल्लो घण्टामा काठमाडौँ उपत्यकामा मात्रै १९६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा १६०२, भक्तपुरमा १२४ र ललितपुरमा २४० जनामा गरी कुल १९६६ जना थपिएको जानकारी दिएका हुन् ।

यसअघि हिजो काठमाडौँ उपत्यकाका तीनवटै जिल्लामा गरी १९१२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । यस्तै बितेको २४ घण्टामा नेपालमा थप ४५२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ४३६४ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १६० जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।

१४ हजार ६७२ जनाको पीसीआर र १ हजार ९ को एन्टिजेन विधिबाट गरिएको परीक्षणमा सो संख्यामा संक्रमित भेटिएका हुन् । योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ३ लाख ७ हजार ९२५ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १८ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ३ हजार १९४ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सक र स्वास्थ्यकर्मीलाई लामो बिदा नदिने र यसअघि बिदामा बसेकालाई पनि हाजिर हुन निर्देशन गरेको छ ।

मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रले मंगलबार अस्पतालहरुलाई पत्र लेख्दै स्वास्थ्यकर्मीलाई लामो बिदा नदिन र बिदामा बसेकाहरुलाई पनि बोलाउन निर्देशन दिएको हो ।

त्यस्तै कार्यरत जनशक्तिमध्ये ५० प्रतिशतको पालो निर्धारण गरी सेवा दिन, दरबन्दी अनुसार कुनै पद रिक्त भएमा तत्काल जनशक्ति व्यवस्थापन गर्न, थप जनशक्ति चाहिए ६ महिनाका लागि करारमा लिन पनि निर्देशन दिएको छ ।

मन्त्रालयले आकस्मिक उपचार दिने तर बहिरंग सेवा र अति आवश्यक बाहेकका शल्यक्रिया नगर्न पनि निर्देशन दिएको छ । स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका प्रमुख डा. समीरकुमार अधिकारीले अस्पतालहरुलाई पठाएको पत्रमा सघन उपचार तथा आकस्मिक उपचारसम्बन्धी आवश्यक औजार उपकरण र अक्सिजनको व्यवस्था गर्न पनि भनिएको छ ।