हाम्रो देश
१९ असार २०७९, आइतवार

सरकारले त्रिदेशीय कप फुटबलका विजेतलाई जनही चार लाख दिने

काठमाडौं, वैशाख १५ गते । मन्त्रिपरिषद्ले थ्री नेशन्स कप फुटबल प्रतियोगिता जित्ने टोलीका प्रत्येक सदस्यलाई चार चार लाख रुपियाँबाट पुरस्कृत गर्ने निर्णय गरेको छ । उक्त पुरस्कार प्रोत्साहन स्वरुप प्रदान गरिनेछ ।

मन्त्रिपरिषद्को निर्णय सार्बजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले युवा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले उक्त निर्णय गरेको जानकारी दिनुभयो । प्रवक्ता गुरुङले प्रतियोगिता खेल्न छनोट भएको २३ सदस्यीय टोलीका साथै प्रशिक्षकलाई समेत प्रोत्साहनस्वरुप पुरस्कृत गरिनेछ । “तीन जना प्रशिक्षकलाई दुई दुई लाख रुपियाँ तथा २३ जना खेलाडीलाई चार चार लाख रुपियाँ प्रोत्साहन बापत् प्रदान गरिनेछ ” – प्रवक्ता गुरुङले जानकारी दिनुभयो ।
गत् महिना बङ्गलादेश र किर्गिस्तान सम्मिलित त्रिदेशीय कप फुटबल प्रतियोगिताको उपाधि नेपालले जितेको थियो ।