हाम्रो देश
१५ असार २०७९, बुधवार

‘रोग र भोकको त्रास बोकेर काठमाडौंमा बस्न सकिएन’

काठमाडौं । बिहानको ७ बजे । कोटेश्वर चोकको वरपर सडकछेउ पूरै माइक्रोबस र मिनीबसले ढाकिएको छ । कोही गाडीमा चढिसके, कोही गाडीको छतमा झोला राख्दैछन् । केही भने गाडी नभेटेर छट्पटराइरहेका छन् ।

‘खै कता छ गाडी, म यहाँ बाटोमा बसिरहेको छु’, कसैले मोबाइलमा भन्छ । काखमा बच्चा बोकेका महिला, ज्येष्ठ नागरिकदेखि लक्का जवान युवाको लामो लर्को छ । कोटेश्वरमा यति ठूलो भीड छ, लाग्छ यहाँ कुनै मेला भर्नेको भीड हो ! त्यही भीडमा छन्, एक ज्येष्ठ नागरिक ।

काँधमा झोला अनि एक हातमा सामानले भरिएको बोरा घिर्सार्दै उनी अघि बढ्छन् । नजिकै रोकिराखेको गाडी नजिक पुग्छन् । हातमा कागज बोकेर गाडि अगाडि एक अधबैंसे पुरुष उभिएका छन् । उनको हाउभाउले प्रष्टै बुझाउँछ, उनी गाडीका कन्डक्टर हुन् ।

‘यो गाडी कहाँ जान्छ’ ती पुरुषको छेउमा पुगेर ज्येष्ठ नागरिक सोध्छन् । उनको प्रश्न सकिन नपाउँदै ती व्यक्ति बोल्छन्, ‘जहाँ गए पनि सीट छैन !’

ज्येष्ठ नागरिकको अनुहारमा निराशाको रेखा कोरिन्छ । बोरा घिसार्दै उनी अझ अघि बढ्छन् । कोटेश्वरको आकाशेपुलभन्दा थोरै अगाडि बरको बोट छ । त्यहाँ थुप्रै मान्छे गाडीको पर्खाइमा सडकपेटीमै झोला थुपारेर बसिरहेका छन् ।

त्यहीं पुगेर वृद्ध बोरालाई बरको फेद नजिकै राख्छन् । अलिकति अगाडि रोकिएको छ, महानगर यातायात । काठमाडौंको चक्रपथ परिक्रमा गर्ने लोकल बस हो, महानगर यातायात ।

तर आज यो बस चक्रपथ परिक्रमा होइन, पूर्वको यात्रा तय गर्ने तयारीमा छ । गाडीमा लगभग सीट भरिएका छन् । लास्टमा दुई सीट खाली छ । ‘यो गाडी कहाँ जान्छ ?’ वृद्ध त्यस गाडीको अगाडि उभिएर उही प्रश्न सोध्छन् । ‘कहाँ जाने ?’ उताबाट अर्को प्रश्न आउँछ । ‘चोहर्वा’ वृद्धले जवाफ फर्काउँछन् ।

उदयपुरका लागि छुट्न लागेको गाडी रहेछ । ती वृद्ध सिरहामै झर्ने भए पनि गाडी भाडा भने उदयपुरसम्मकै (१२००) तिर्नुपर्ने भनियो । वृद्धले ८०० मा हुँदैन भनेर सोधे । १२०० भन्दा एक रुपैयाँ पनि कम नहुने जवाफ पाएपछि वृद्ध गाडीमा चढे । कोटेश्वरका सडकभरि गाडी नै गाडी भए पनि सीट पाउने सम्भावना भने कम थियो । शायद त्यसैले उनले धेरै कुरा गरेनन् ।

बरको फेदमा राखेको बोरा ल्याएर छतमा राख्न दिए । काँधमा बोकेको झोला खोलेर काखमा लिएर बसको पछाडि सीटमा बसे । उनी ज्याला–मजदूरीको काम गर्ने मिस्त्री हुन् । ‘हिजोसम्म त कामकाज चलेको थियो, अब लकडाउन भएपछि त बन्द भइहाल्नेछ’, मैथिली भाषामा उनले भने, ‘यहाँ बसे खाना खान पनि नपाइएला, फेरि कोरोना पनि लाग्छ ।’

नेपाली भाषा बोल्न अलि गाह्रो मानेका उनले काठमाडौं छाड्नुको कारण कोरोना र काम भएको बताए । गाउँमा भने भोकै बस्नु पनि नपर्ने र कोरोना पनि नलाग्ने विश्वास उनमा छ ।

०००

ऊ आयो… आयो… ! एक हूल मान्छे रातो रंगको मिनीबस भित्र पस्छन् । खाली आएको गाडी कोटेश्वर चोकमा रोकिएको दुई मिनेट हुन नपाउँदै भरिभराउ हुन्छ । अझ गाडीमा चढ्न लागेका एक हूल मानिस सीट भरिभराउ भएका कारण अटेनन् ।

‘झन् हामीले हिजै फोन गरेर टिकट भनेको, सीट पूरै भरियो’, गाडीमा चढ्न नपाएको भीडबाट एक महिला रिसाउँदै बोलिन् । ‘तपाईंहरूले कसलाई टिकट भन्नुभएको थियो ?’ गाडीका कन्डक्टर झर्किंदै बोले । टिकट बुक गर्ने व्यक्तिको नाम भनेपछि ती कन्डक्टरले भने, ‘यहाँ १२ जनाको टीम कुन हो ?’

गाडीका कन्डक्टरले तपाईंहरूले टिकट काटेको यो गाडी नभई अर्को भएको जवाफ दिंदै अर्को गाडी आइपुग्न लागेको जानकारी दिए । गाडीबाट झर्न नमानेका उनीहरूलाई बल्लतल्ल फकाएर गाडीबाट झारे अनि गाडी चढ्न नपाएको अघिल्लो टोली गाडीमा चढ्यो ।

१२ जनाको समूहमा सबै युवा थिए । उनीहरू काठमाडौंमा मजदूरी गर्ने रहेछन् । ‘ठेकेदारले हिजै बिदा दियो, अब बसेर के गर्ने’, गाडीबाट ओर्लिएका एक युवाले भने, ‘पहिले लकडाउन हुँदा हिंडेर जानुपर्‍यो ।’

सप्तरी घर भएका उनीहरूमध्येका दुई युवाले गत वर्ष लकडाउन हुँदा गाडी नपाएर हिंडेर जानु परेको पीडा सुनाए । दुई दिनसम्म हिंडेपछि बाटामा गाडीले उद्धार गरेर उनीहरू घर पुगेको सुनाए ।

पैसा कमाउन आएका उनीहरूलाई अब पनि काठमाडौं बसे भोकै मर्नुपर्ने अवस्था आउने चिन्ता थियो । ‘काठमाडौं बसे काम पनि पाइँदैन, कोरोना पनि लाग्छ’ ती युवाले भने, ‘गाउँमा जाने हो घरको काम गर्ने हो, गाउँमा त कोरोनाको डर पनि छैन ।’ भीडमा भेटिएका सबैको उस्तै मान्यता, एउटै बुझाइ छ ।

०००

अर्को हूल नजिकै उभिएको छ । सडक पेटीभरि झोलाहरू छरपस्ट छन् । त्यही छेउमा सानो बच्चा बोकेर उभिएकी छिन् एक महिला । बेलाबेलामा मोबाइल निकाल्छिन् र डायल गर्छिन्, ‘खै हौ, कतिबेला गाडी आउँछ ?’

उताबाट शायद ‘आउँदैछ’ भन्ने जवाफ आयो होला । घडीमा ९ बजिसकेको छ । सिन्धुली जानका लागि हिंडेकी उनी बिहान ६ बजे नै कोटेश्वर पुगेकी रहिछिन् । तर ९ बजेसम्म पनि गाडी नआउँदा छट्पटाइरहेकी थिइन् । नजिकै अर्को भीड उभिएको छ । त्यो भीडमा भने अधिकांश विद्यार्थी छन् ।

‘पहिले लकडाउन हुँदा एक महीना नबसे पनि ७० हजार भाडा तिर्नु पर्‍यो, यसपालि भने हामी कोठा नै छाडेर घर हिंडेको’, जनकपुर घर भएका उनले भने । गत वर्ष लामो समय लकडाउन भएको र यसपालि पनि कहिलेसम्म निषेधाज्ञा हुने भन्ने ठेगान नभएका कारण कोठा नै छाडेर हिंडेको उनीहरूले बताए ।

‘कपडा साथमै बोकेर आएका छौं, अरू सामान एक जना साथीको कोठामा राखेका छौं’ उनले भने, ‘सबैको आ–आफ्नै कोठा हुँदा धेरै तिर्नुपथ्र्र्यो, अब सामान राखेको एउटा साथीको कोठाको भाडा पछि काठमाडौं आएपछि मिलेर तिर्छौ ।’

हेर्नुहोस् थप तस्वीरहरु