हाम्रो देश
१२ असार २०७९, आइतवार

विवाहमा सहभागि महिलाको कोरोनाबाट निधन, अन्य ३० संक्रमित

पनौती १० खोपासीमा आयोजना भएके विवाहमा सहभागि ५२ बर्षिया महिलाको कोरोना संक्रमणका कारण उपचारको क्रममा निधन भएको छ । बुधबार राति धुखिखेल अस्पतालमा अर्का एक ८२ बर्षिय पुरुषको पनि कोरोनाका कारण निधन भएको छ । संक्रमणको दर बढिरहँदा जिल्लामा एकै दिन दुई ब्यक्तिले ज्यान गुमाउनु परेको छ ।

बैशाख १० गते शुक्रबार आफ्नै परिवारमा भएको विवाहमा ५२ बर्षिया महिला सहभागि हुनुहुन्थ्यो । ‘एक्कासी ढल्नु भएछ, तत्काल उपचारका लागि शिर मेमोरियल अस्पताल बनेपा पुर्‍याईएको रहेछ । उपचारको क्रममा उहाँमा कोरोना भाईरसको परिक्षण गर्ने क्रममा पोजेटिभ देखियो’–पनौती स्वास्थ्य शाखाका प्रमुख पुरुषोतम तिमल्सिनाले भन्नुभयो–‘चिकित्सकहरुले उहाँलाई भेन्टिलेटरमा राखेर उपचार गर्नु पर्ने बताउनु भएको थियो । धुलिखेल र शिर मेमोरियल अस्पताल दुबैमा उक्त सुविधा नभए पछि उहाँलाई थप उपचारका लागि काठमाडौ स्थित गणेशमान सिंह अस्पतालमा पुर्‍याईएको थियो ।’ उपचारकै क्रममा बुधबार राति उहाँको निधन भएको हो । जिल्लामा रहेका दुबै अस्पतालले कोभिडका विरामीहरुका लागि भेन्टिलेटर सहितको सुविधा तत्कालिन समयमा उपलब्ध गराउन सकेका थिएनन् । अहिले जिल्लामा संक्रमितको संख्या २ सय १३ पुगेको छ । जसमध्ये गम्भिर प्रकृतिका ५ जना अस्पताल भर्ना भएका छन् ।

विवाहमा सहभागि भएका मध्ये मंगलबार स्वाव संकलन गरेका २४ मध्ये १७ जनामा संक्रमण देखिएको थियो भने बुधबार परिक्षण गरिएका २३ मध्ये १२ जनामा संक्रमण देखिएको छ । विवाहमा सहभागि भएको सम्पर्कका आधारमा परिक्षण गरिएका मध्ये ३० जनामा कोरोना भाईरस संक्रमण देखिएको हो । स्वास्थ्य कार्यालय काभ्रेले पटक पटक विवाहमा धेरै जना सहभागि नहुन अपिल गरेको तर त्यसको बेवास्ता भईरहेको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख बरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले बताउनु भयो । उपत्यकामा लकडाउन भए सँगै जिल्लामा सुनसान जस्तै देखिए पनि सार्वजनिक यातायात तथा विवाह, व्रतवन्ध लगायतका कार्यक्रमहरुमा सहभागि हुनेहरुको भिड बढिरहेको छ ।

बुधबार राति नै धुलिखेल अस्पतालमा उपचारका क्रममा धुलिखेल घर भएका ८२ बर्षिय जेष्ठ नागरिकको निधन भएको छ । विहान अस्पतालमा भर्ना गरिए पनि उपचार सम्भव भएन । उपचारकै क्रममा उहाँमा कोरोना संक्रमण देखिएको थियो ।