हाम्रो देश
४ जेष्ठ २०७८, मङ्गलवार

मुख्यमन्त्रीको निर्देशनपछि आकाशे पुलको शिलान्यास रोकियो

१६ वैशाख, विराटनगर । कोरोना महामारीकाबीच आकाशेपुल शिलान्यासको तयारी गरेका मन्त्री र मेयर मुख्यमन्त्रीको निर्देशनपछि पछि हटेका छन् । बुधबार बेलुका आकाशेपुल शिलान्यास गर्ने तयारीमा रहेका विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली र प्रदेश-१ भौतिक पूर्वाधार मन्त्री अम्बिरबाबु गुरुङ मुख्यमन्त्री शेरधन राईको निर्देशनपछि पछि हटेका हुन् ।

बुधबार बेलुका ५ बजे विराटनगरको घाँस चोकमा पुल शिलान्यास गर्न भन्दै शहरी विकास तथा भवन कार्यालयलका प्रमुख मिलन आचार्यले निमन्त्रणा पठाएका थिए । अन्तिम समयमा मुख्यमन्त्रीले रोक्न निर्देशन दिएपछि शिलान्यास रोकिएको हो । ‘यस्तो बेला शिलान्यासको कार्यक्रम राख्न हुदैन भन्दै मुख्यमन्त्रीले रोक्नुभयो,’ मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले भने।

शिलान्यासमा सहभागी हुन निमन्त्रणमा आएपछि प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले पनि कार्यक्रम नगर्न आग्रह गरेका थिए । ‘मलाई पनि निमन्त्रणा आयो, यस्तोबेला मान्छे भेला पारेर शिलान्यास कार्यक्रम गर्न हुदैन भनेर मन्त्री र मेयरज्यूलाई फोन गरेँ,’ प्रजिअ निरौलाले भने,‘पछि रोकियो भन्ने जानकारी पाएँ ।’

विराटनगर महानगरपालिकाले नगरक्षेत्रभित्र कुल तीनवटा आकाशे पुल निर्माण गरिरहेको छ भने सहरी विकास तथा भवन कार्यालयले छुट्टै एउटा पुल निर्माण गर्ने तयारी गरेको छ । विराटनगर महानगरपालिकाका इन्जिनियर अर्जुन थापाले एक महिनाअघि शिलान्यास गरेर काम अघि बढाएको बताए ।

महानगरले कोसी राजमार्गको घाँस चोक, बरगाछी चोक र कञ्चनबारी चोकमा आकाशे पुल निर्माण गर्ने थापाले जानकारी दिए । सहरी विकास कार्यालयले घास चोकमा बनाउने इच्छा देखाएकाले महानगरले बसपार्कमा बनाउने उनले बताए ।