हाम्रो देश
३ जेष्ठ २०७८, सोमवार

‘अचानक बिरामी’ सांसदको विज्ञप्ति : म बेहोस भएँछु, पार्टी निर्णयप्रति प्रतिबद्ध छु

पोखरा । अविश्वास प्रस्तावमाथि मतदान गर्ने दिन अचानक सम्पर्कविहीन भई पछि चरक अस्पतालको स्विट रुममा भेटिएका जनमोर्चाका सांसद खिमविक्रम शाहीले एक विज्ञप्ती जारी गर्दै आफ्ना बारेमा उठेका कुराहरुको बारेमा प्रष्ट पार्ने जनाएका छन् । मिति, चलानी नं. नराखी सांसदको लेटरहेडमा सार्वजनिक गरेको पत्र अनुसार उनले पार्टी निर्णयप्रति प्रतिबद्ध रहेको जनाएका छन् । उनले जारी गरेको विज्ञप्ती अनुसार, अविश्वासको प्रस्तावमा मतदान गर्नको लागि सदनमा जानको लागि तयारी अवस्थामा रहँदा अचानक बिरामी भई बेहोस भएको जनाएका छन् ।

विज्ञप्तिमा भनिएको छ, “म खिमविक्रम शाही राष्ट्रिय जनमोर्चाको तर्फबाट गण्डकी प्रदेश बागलुङ जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २, प्रदेशसभा निर्वाचन क्षेत्र नं. ख बाट निर्वाचित प्रदेशसभाको सदस्य हो । मिति २०७८ वैशाख १५ गते सदनको कार्यसूची बमोजिम मुख्यमन्त्री माथिको अविश्वासको प्रस्तावमाथि छलफल र मतदान हुने रहेको थियो । तर, म सदनमा जाने भनि तयारी अवस्थामा रहेको बेला अचानक बिरामी भई मेरो आफ्नै भाईलाई सम्पर्क गरेर आफ्नो स्वास्थ्य उपचारका लागि अस्पताल लैजाने क्रममा म बेहोस भएछु ।

म अहिले उपचाररत छु । हाल मेरो स्वास्थ्यमा क्रमिक सुधार आएको महसुस गरेको छु । म थप स्वस्थ भएपछि मेरो बारेमा उठेका कैयौँ प्रश्नको बारेमा स्पष्ट गर्ने नै छु । अहिले समाचार र सामाजिक सञ्जालमा प्रचार भएका विभिन्न भ्रामिक खबरहरुबाट आफ्नो धारणा बनाएर विचार प्रकट नगरिदिनु हुन म सम्पूर्ण दाजुभाई, दिदीबहिनी र मेरा शुभचिन्तकहरुमा प्रष्ट पार्न चाहान्छु । साथै, पार्टीको निर्णय र संसदीय दलको बैठकमा गरिएको निर्णयमा मेरो पनि सहभागिता रहेका कारण ती निर्णयहरुप्रति मेरो पनि सहमति रहेकाले त्यस विषयमा पार्टी निर्णय प्रति प्रतिबद्धता कायमै छ ।”

मेरो स्वास्थ्यप्रति गम्भीर भई उपचारमा सहयोग गर्नुहुने स्वास्थ्यकर्मी, स्वास्थ्यप्रति चासो र चिन्ता प्रकट गर्नुहुने मेरा पार्टीका नेता, प्रदेशसभाका सदस्य, अग्रज साथीहरु र सम्पूर्ण शुभचिन्तकमा धन्यवाद प्रकट गर्दछु ।