हाम्रो देश
१२ असार २०७९, आइतवार

अस्पताल भर्ना गरिएको दुई घण्टा नबित्दै कोरोना संक्रमितको मृत्यु

विराटनगर : उपचारका लागि अस्पताल भर्ना गरिएको दुई घण्टा पनि बित्न नपाउँदै विराटनगरमा एकजना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा सिरहाको गोलबजार–१२ का ४८ वर्षीय पुरुषको बिहीबार बिहान १२:२२ बजेतिर मृत्यु भएको हो ।

कोरोना पुष्टि भएका उनलाई बुधबार राति १०:३० बजेतिर उपचारका लागि आइसोलेसनमा भर्ना गरिएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । ‘अस्पताल भर्ना गर्दा अवस्था गम्भीर थियो,’ उनले भने, ‘उपचार थालेको दुई घण्टा पनि बित्न नपाउँदै संक्रमितको मृत्यु भयो ।’ दाहालका अनुसार मृतकमा निमोनियाको पुरानै समस्या रहेको पाइएको छ ।