हाम्रो देश
१२ असार २०७९, आइतवार

पूर्वरानी शाहलाई आजै प्लाज्मा थेरापीबाट उपचार गरिने

पूर्वरानी कोमल राज्यलक्ष्मी शाहलाई प्लाज्मा थेरापीबाट उपचार गरिने भएको छ। नर्भिक इन्टरनेसनल अस्पतालले शाहका लागि प्लाज्माको खोजी गरिरहेको हो। पूर्वरानी शाहको उपचारमा संलग्न डा. जेपी जैसवालले सम्भव भएसम्म बिहीबार नै प्लाज्माबाट उपचार गरिने बताए। ‘प्लाज्माको खोजी भइरहेको छ, त्यसबाट आजै उपचार थाल्ने हाम्रो योजना छ,’ जैसवालले सेतोपाटीसँग भने।

कोरोना संक्रमण भएपछि पूर्वराजा ज्ञानेन्द्र शाह र रानी कोमल वैशाख ७ गते नर्भिक अस्पताल भर्ना भएका थिए। कोमललाई भने श्वासप्रश्वासमा समस्या देखिएपछि बुधबार आइसियूमा सारिएको छ। उनको अवस्था स्थिर र सुधारोन्मुख रहेको जैसवालले बताए। ‘उहाँलाई प्रतिमिनेट ८-१० लिटरसम्म अक्सिजन दिइरहेका छौं,’ जैसवालले भने, ‘कोभिडको विरामीलाई गरिने सबै उपचार विधि प्रयोग गरिरहेका छौं।’

भारतको हरिद्वारबाट फर्किएपछि शाह दम्पत्तीलाई कोरोना संक्रमण भएको थियो। पूर्वराजा शाहको अवस्था भने सामान्य छ। उनीहरूसँगै अस्पताल भर्ना भएकी छोरी प्रेरणा शाहको अवस्था सामान्य छ।