हाम्रो देश
४ जेष्ठ २०७८, मङ्गलवार

साम्राज्ञीले सुरु गरिन् अनलाईन ब्यवसाय ।

कोरोना महामारीपछि नेपाली कलाकारहरुले आम्दानीका लागि वैकल्पिक पेशा पनि रोज्न थालेका छन् । कोरोनाले फिल्म निर्माण र प्रदर्शन अन्योल भएपछि आर्थिक रुपमा बलियो रहेका कलाकारहरुले विभिन्न व्यवसायमा हात हालेका छन् । कोरोनापछि अनलाइन सपिङप्रति बढेको आकर्षणलाई मध्यनजर गर्दै अभिनेत्री साम्राज्ञी आरएल शाहले अनलाइन व्यवसाय सुरु गरेकी छन् ।

राम्रो ‘ड्रेस सेन्स’ भएकी अभिनेत्रीको रुपमा चिनिने साम्राज्ञीले अनलाइन क्लोजिङ स्टोर सञ्चालनमा ल्याएकी हुन् । ‘प्याप’ (प्याप्ड) नाममा खोलिएको अनलाइन स्टोरमा नेपालमै तयार गरिएका महिलाले लगाउने पहिरन मात्र पाइन्छ । साम्राज्ञीले दिनहुँ जसो सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत् ‘प्याप’ स्टोरमा उपलब्ध पहिरनमा फोटोसुट गरेका तस्विरहरु सार्वजनिक गर्दै आएकी छन् ।

कोरोना महामारीपछि अनलाइनको प्रयोग गरेर खाना, औषधी लगायतका सामान अर्डर गर्नेको संख्या दिन-प्रतिदिन बढिरहेको छ । तर, नेपालमा आफूले चाहेको जस्तो पहिरन घरमै बसेर अर्डर गर्ने अनलाइन प्लेटफर्मको खासै धेरै विकास भएका छैनन् । यही कारण साम्राज्ञीले अनलाइन क्लोजिङ स्टोर सञ्चालनमा ल्याएकी हुन् । ‘प्याप’ स्टोरमा स्लिकका पहिरनहरु बढी उपलब्ध छन् ।

पछिल्लो पटक फिल्म ‘रातो टिका निधारमा’ देखिएकी साम्राज्ञीले लकडाउनपछि फिल्म ‘तिम्रो मेरो साथ’ को छायांकन सकाइन् । यसमा उनको जोडी अभिनेता पुष्प खड्कासँँग बाँधिएको छ । उनले लकडाउनको समयमा निर्देशक द्वय प्रवेश पौडेल र मिलन चाम्सको फिल्म पनि साइन गरेकी थिइन् । तर, कोरोनाको दोस्रो लहर सुरु भएकाले यी फिल्मको छायांकन अन्योलमा परेको छ ।