हाम्रो देश
११ जेष्ठ २०७९, बुधवार

राई भन्छन्–यस्तै पार्टी चाहिन्छ भनेर एमाले छाडेको थिएँ

समाजवादी पार्टी नेपाल सरकारबाट बाहिरिने तयारीमा हो ?
हामी प्रधानमन्त्रीलाई समय नदिई सरकार छाड्दैनौँ । हाम्रा माग पूरा भएनन् भने प्रधानमन्त्रीलाई जानकारी गराएर समय दिन्छौँ । संविधान संशोधनको माग सम्बोधन नभए मात्रै सरकारबाट बाहिरिन्छौँ ।

संविधान संशोधन हुन्छ भन्ने आधार के छ ?
हामी सहभागी हुँदा मात्रै सरकारमा दुईतिहाइ पुगेको छ । यो महŒवपूर्ण विषय हो । यसै विषयमा हामीले सरकारलाई स्मरणपत्र पनि दिएका छौँ । प्रधानमन्त्रीले संविधान संशोधन अपरिहार्य भएकाले वातावरण बनाएर अगाडि बढ्ने विश्वास दिलाउनु भएको छ । त्यो वातावरण अहिलेसम्म बन्यो या बनेन प्रधानमन्त्रीलाई एकपटक प्रश्न गर्छौँ । त्यसपछि हामी छलफल गरेर निर्णय लिन्छौँ । 

तत्कालीन एमाले छोडेर आफ्नै नेतृत्वमा पार्टी खोल्नुभयो । तीन वर्ष नपुग्दै फोरमसँग र अहिले नयाँ शक्तिसँग एकता गर्नुभयो । तपाईंले उठाएका राजनीतिक एजेन्डा कहाँ पुगे ?
म आफैँ कुनै एजेन्डाको प्रतिपादक होइन । संघीयताको माग २००७ सालदेखि उठेको हो । पहिचान त्यससँगै जोडिएर आएको हो । कम्युनिस्टले सुरुदेखि नै वर्गीय र जातीय उत्पीडन रहेको भन्दै त्यसबाट जनतालाई मुक्त गर्नुपर्ने आवाज उठाए । माक्र्सवाद भनेकै मान्छेमाथि मान्छेबाट हुने सबै शोषण, अन्याय, अत्याचार र अपमानको अन्त्य गर्ने सिन्द्धान्त हो । उत्पीडनको अन्त्यका लागि दशवर्षे जनयुद्ध, पहिचान र राज्य पुनर्संरचनाका लागि आन्दोलन र शान्ति सम्झौतापछि मधेस जनविद्रोह भयो । त्यसले संघीयतालाई ठोस रूपमा अगाडि बढायो । अघिल्लो संविधानसभा ती विषयमा सकारात्मक थियो । पछिल्लो सविधानसभाले अघिल्लो संविधानसभाले उठाएको पहिचानसहितको संघीयता, विभेदरहित राज्य, समानुपातिक समावेशीजस्ता लोकतन्त्रका आधारभूत मूल्य र मान्यतालाई आत्मसात् गर्न सकेन । अन्तमा विभेदकारी, पहिचान विरोधी र प्रशासनिक ढाँचाको संघीयतामा मुलुक गयो । जहाँ समानुपातिक समावेशीको अन्त्य र भाषिक, सांस्कृतिक र धार्मिक विभेद कायम छ ।

संविधान नै त्यस्तो भएपछि एउटा नयाँ शक्ति चाहिन्छ । त्यस्तो शक्तिले पहिचानलाई स्थापित गरेर संघीयतालाई सच्याउन, समानुपातिक समावेशीलाई अंगाल्न र धर्म निरपेक्षतालाई सुदृढ गर्न सक्छ । मैले यस्तै नयाँ पार्टी आवश्यक छ भनेर एमाले परित्याग गरेको थिएँ । त्यसैका लागि पहिले फोरम र अहिले नयाँ शक्तिसँग एकता भएको हो । यसभित्र हामीले २०–२५ वटा समूह मिलाएका छौँ । बाबुराम भट्टराईको पार्टीसँग विगत दुई महिनादेखि यही विषयमा वार्ता चल्यो र अहिले एकताले सार्थकता पायो ।

हामीले कम्युनिस्ट र पुँजीवादीका सकारात्मक विचारबाट आवश्यक कुरा सिक्छौँ, हुबहु कपी गर्दैनौँ

तपाईंहरूले फेरि ११ प्रदेशको माग उठाउनुभएको छ । के त्यसको सान्दर्भिकता छ ?
विल्कुल सान्दर्भिकता छ । हिजो सविधानसभाले अगाडि सारेको विषय खर्चसँग जोडिएको छैन । राष्ट्रिय एकतालाई बलियो बनाउने कि कमजोर ? सबै नेपाली स्वाभिमानसहित समानताबोध गरेर राष्ट्रियताप्रति एकताबद्ध हुने कि विशृंखलित ? मुलुकमा साम्प्रदायिक जातीय राज्य चलाउने कि सबैको सहभागितासहितको  ? यी मुख्य विषय हुन् । खर्च धेरै भयो भन्नेहरू संघीयता बाख्राको टाउकामा भैँसीको सिंङ भयो भन्दैछन् । भैँसीलाई सिङ भारी हुँदैन । संघीयतालाई भैँसीको सिङसँग तुलना गर्नु हँुदैन । यो मुलुकसँग आर्थिक भार बहन गर्न सक्ने क्षमता छ । संघीयता विरोधीले निहुँ खोजेर यसलाई असफल पार्दैछन् । वास्तवमा प्रदेशले खर्च नै गर्न पाएका छैनन् । उनीहरूलाई अधिकार दिइएको छैन । प्रदेशले खर्च मात्रै गर्दैनन्, आफ्नो स्रोत पनि जुटाउँछन् भन्नेमा ध्यान दिनुपर्छ । अहिले सरकार केन्द्रीकृत एकात्मक ढाँचामा चलिरहेको छ । केन्द्रमा भएको भ्रष्टाचार, कमिसन र राजस्वको हिनामिनालाई नियन्त्रण गर्ने हो भने प्रदेश आरामले चल्ने अवस्था बन्छ । संघीयतामा प्रदेशले आफ्नो खर्च धान्ने र विकास गर्ने जिम्मा लिन्छ, व्यक्तिले खल्तीबाट निकालेर दिने होइन ।

तपाईंहरू कम्युनिस्ट र पुँजीवादी दुवै सिद्धान्त मिलाउने भन्नुहुन्छ । त्यस्तो पार्टीको राजनीति धरातल के हो ?
यो नेपाली धरातलमा उभिने पार्टी हो । हरेक मुलुकमा आफूअनुकुलको विचार र सिद्धान्तमा पार्टी बन्छन् । कम्युनिस्टले रुसमा माक्र्सवाद हुबहु प्रयोग नगरी लेनिनवाद प्रयोग गरे, चिनियाँ सन्र्दभमा माओवाद । दक्षिण अमेरिकामा समजवादका फरक परिभाषा छन् । अब कम्युनिस्ट वा पँुजीवादी भनेर दुनियाँ चल्दैन । त्यसैले हामीले वर्गीय र जातीय समस्यालाई ध्यान दिएका छौँ । त्यसका लागि हाम्रो पार्टीले चार तत्व संघीयता, सुशासन, समृद्धि र समाजवाद भएको समुन्नत, संघीय समाजवादलाई अगाडि सारेको छ । यो विदेशबाट ल्याएको रेडिमेड विचार होइन । हामीले कम्युनिस्ट र पुँजीवादीका सकारात्मक विचारलाई आवश्यक परेको खण्डमा सिक्ने तर, हुबहु कपी नगर्ने भनेका छौँ ।

नयाँ पार्टीमा दुई अध्यक्ष र गुटगत भागबन्डा गर्नुभयो । सत्तारुढ नेकपाभन्दा के फरक भयो त ?
हाम्रा दुई अध्यक्ष कार्यविभाजनसहित छन् । यहाँ ६ अध्यक्ष भएको पार्टी पनि छ । कति अध्यक्ष वा कति पदाधिकारी राख्ने भन्ने आवश्यकताले निर्धारण गर्छ । पद नेताको व्यवस्थापनको विधि र कला हो । हामीले राखेको उद्देश्य, पार्टीले एकतापछि गर्ने शक्ति आर्जन र उद्देश्य प्राप्तिको मुख्य विषय हो । बाँकी गौण विषय हुन् ।