हाम्रो देश
१९ असार २०७९, आइतवार

जसपा विवाद झन् पेचिलो बन्दै

काठमाडौं ।   जनता समाजवादी पार्टी (जसपा) भित्रको विवाद झन्झन् बढ्दै गइरहेको छ । दुई ध्रुवमा विभाजित जसपा नेताका कारण फुटनजिक पुगेको पार्टीभित्र विवाद बढ्दै जाँदा पेचिलो बन्दै गइरहेको छ ।

पार्टीको निर्णयअनुसार लुम्बिनी प्रदेशको प्रदेश सभा सचिवालयलले प्रदेश सांसद सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेलाई कारबाही गरेपछि पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको छ । जसपा अध्यक्ष उपेन्द्र यादव समूहले यी सांसदलाई कारबाही गर्न १४ वैशाखमा पार्टीको कार्यकारिणी समितिले निर्णय गरेको जनाएको छ ।

पार्टी हितविपरीत कार्यमा संलग्न भएकाले पार्टीको कार्यकारिणी समितिको बहुमत सदस्यको निर्णयका आधारमा कारबाही गरिएको उल्लेख गरिएको छ । तर, जसपा अध्यक्ष महन्थ ठाकुरले लुम्बिनी प्रदेशमा आफ्ना चार जना सांसदलाई पदमुक्त गर्ने निर्णय पार्टीले नगरेको भन्दै सोको जानकारी दिन निर्वाचन आयोग पुगेका छन् ।

लुम्बिनी प्रदेशका आफ्ना चार सांसदलाई प्रदेश सभा सचिवालयले कारबाही गरेपछि शुक्रबार निर्वाचन आयोग पुगेका अध्यक्ष ठाकुरले कसैलाई पनि पार्टीले कारबाही नगरेको जानकारी गराएका छन् । ठाकुरले जसपा नेपालको कार्यकारिणी समितिको बैठक ७ पुस २०७७ यता हालसम्म नबसेको जानकारी आयोगलाई गराएका छन् । अध्यक्ष ठाकुरले गैरकानुनी पत्र एवं सोसँग सम्बन्धित अन्य पत्र तथा निर्णयसमेत बदरका लागि यथाशीघ्र कानुनी प्रक्रिया अघि बढाउन आयोगसमक्ष माग गरेका छन् । याे खबर राजधानी दैनिकमा छ।