काठमाडौं : नेपाल संस्कृत विश्वविद्यालयका पूर्व उपकुलपति विदुर पौडेलको निधन भएको छ। पहिलो राष्ट्रियसभाका सदस्यसमेत रहेका पौडेलको शनिबार बिहान पशुपतिस्थित बैद्यखानामा ७७ वर्षको उमेरमा निधन भएको हो।
पूर्वीय दर्शन तथा संस्कृत साहित्यका अध्येता पौडेलको मस्तिष्कघातबाट निधन भएको हो। ओखलढुङ्गा स्थायी घर भई काठमाडौंको कुमारीगालमा बस्दै आएका पौडेललाई केही दिनअघि मस्तिष्कघात भएपछि शिक्षण अस्पताल लगिएको थियो।
त्यहाँबाट सिनामंगलस्थित मेडिकल कलेजमा लगिएकोमा अवस्था नाजुक बनेपछि पौडेलले आफूलाई पशुपतिनाथस्थित वैद्यखानामा लैजान भनेको थिए। पशुपतिमै प्राण त्याग्ने उनको इच्छाअनुसार वैद्याखाना लगिएको परिवारका सदस्यले बताएका छन्।
वैशाख ११ गते शनिबार कोभिडको पहिलो खोप लगाएपछि उहाँलाई मष्तिष्कघात भई उपचारका लागि सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजको सघन उपचार कक्षमा भर्ना गरिएको भतिज रोहित पौडेलले बताए। अविवाहित जीवन बिताएका पौडेल छ जना दाजुभाइमध्ये जेठा थिए ।
स्व. पौडेलको आजै पशुपति आर्यघाटमा वैदिक विधिअनुसार अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।
नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले संस्कृत विश्वविद्यालयका पूर्व उपकुलपति पौडेल नेपाली राजनीतिमा बीपी कोइराला, सुवर्ण शमसेर, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईको अनुयायी भएको बताएका छन्। पौडेलको निधनले संस्कृत साहित्यमा अपुरणीय क्षति पुगेको भण्डारीले बताए।