हाम्रो देश
११ असार २०७९, शनिवार

२३ जिल्लामा निषेधाज्ञा जारी, चार जिल्ला थपिंदै

काठमाडौँ । सरकारले कोभिड–१९ को सङ्क्रमणावस्था हेरेर निषेधको आदेश जारी गर्न सक्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएसँगै विभिन्न जिल्लामा जारी गरिएको छ । गृह मन्त्रालयका अनुसार शुक्रबारसम्मको प्राप्त विवरणमा कुल २३ जिल्लामा निषेधको आदेश जारी गरिएको छ । त्यसमध्ये आजसम्म १९ जिल्लामा आदेश कार्यान्वयनमा आएको छ ।

केही जिल्लामा आंशिक र कतिपय जिल्लामा आवश्यकता हेरी फरकफरक आदेश जारी गरिएको छ । आदेश जारी भएका जिल्लामध्ये एक जिल्लामा यही वैशाख १८ र अन्य तीन जिल्लामा १९ गतेदेखि कार्यान्वयन गरिने जनाइएको छ ।

सरकारले सङ्क्रामक रोग नियन्त्रण ऐन २०२० को उपदफा २ बमोजिम पहाडी र हिमाली जिल्लामा २०० र काठमाडौँ उपत्यका तथा तराईमा ५०० सक्रिय सङ्क्रमित रहेका जिल्लामा जिल्लाभर वा निश्चित क्षेत्र तोकी प्रजिअलाई निषेधाज्ञा वा अन्य आवश्यक आदेश जारी गर्न सक्ने अधिकार दिएको थियो ।

सोही अधिकार प्रयोग गर्दै बाँके, सुर्खेत, काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, कञ्चनपुर, दाङ, पाल्पा, चितवन, रुपन्देही, सल्यान र सुनसरीमा आदेश कार्यान्वयनमा छ । कालीकोट, बागलुङ, बर्दिया र दार्चुलामा आंशिक आदेश जारी भएको छ ।

यता जाजरकोटमा यही वैशाख १८ गते रातिदेखि तथा सल्यान र डडेलधुरामा १९ गते बिहान ६ बजेदेखि र झापामा १९ गते राति १२ बजेदेखि आदेश कार्यान्वयन हुने गृह मन्त्रालयले जनाएको छ ।

आदेश जारी भएका जिल्लामध्ये कास्की, सुनसरी र झापामा सवारी साधनलाई जोरबिजोर प्रणालीमा सञ्चालन गरिएको छ । गृह प्रवक्ता जनकराज दाहालले आदेशको पूर्ण पालना गर्न सर्वसाधारणसँग अनुरोध गरेका छन् ।

आठ हजारलाई कारवाही

यसैबीच, नेपाल प्रहरीले तोकिएको स्वास्थ्य मापदण्ड उल्लङ्घन गर्ने र आदेशको पालना नगर्ने आठ हजार २४ जनालाई सङ्क्रामक रोग नियन्त्रण ऐन, २०२० बमोजिम कारवाही गरेको छ । उनीहरुलाई उल्लङ्घनको मात्रा हेरी जरिवाना तिराएर छाडिएको छ ।

नेपाल प्रहरीका प्रवक्ता वसन्तबहादुर कुँवरका अनुसार पछिल्लो २४ घण्टामा मास्क नलगाई हिँड्ने १६ हजार ६६४ जनालाई निःशुल्क वितरण गरिएको र नलगाई हिँडडुल गर्ने ४५ हजार ७७७ जनालाई होल्डिङ जोनमा राखी सम्झाएर छाडिएको छ ।

कोभिड–१९ सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि प्रहीले कारवाही अभियानसँगै सचेतनामूलक कार्यक्रम पनि सञ्चालन गरिरहेको छ । मानिसले सरकारी आदेशको उल्लङ्घन गरी जथाभावी रुपमा हिँडडुल गरेपछि सचेतनामूलक कार्यक्रम गरी सुझाव दिने गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरीले ठाउँठाउँमा प्ले कार्डसमेत प्रदर्शन गरेको तथा बटुवालाई भेटेरै मास्क लगाउन, सावधानी अपनाउन तथा अत्यावश्यक काम नपरी बाहिर ननिस्किने शर्तमा घर पठाउने गरिएको छ ।

पछिल्लो २४ घण्टामा मुलुकभर ५१८ सचेतनामूलक कार्यक्रम सम्पन्न भएको र तिनमा ६८ हजार ५६७ जना सहभागी भएका छन् ।

नयाँ भेरियन्टसहितको कोभिड–१९ सङ्क्रमण बढ्दै गएका सन्दर्भमा यसबाट सिर्जना हुन सक्ने समस्या र चुनौतीलाई दृष्टिगत गरी सङ्क्रमण रोक्न तोकिएको सुरक्षा मापदण्डलाई दुरुस्त रुपमा कार्यान्वयनका लागि अभियान चालिएको हो । नेपाल प्रहरीले ‘सङ्क्रमणबाट आफू बचौँ र अरुलाई पनि बचाऔँ’ भन्ने नारासहित ‘तपाईंको मास्क खै ?’ लगायत विभिन्न सचेतनामूलक कार्यक्रमलाई अभियानकै रुपमा सञ्चालन गरिरहेको छ ।

कार्यक्रमअन्तर्गत नेपाल प्रहरीले विभिन्न स्थानमा कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि सचेतनामूलक सन्देशसहितको माइकिङ, सवारी साधनको जाँच, सचेतनामूलक प्लेकार्ड प्रदर्शनलगायत कार्यक्रममार्फत मास्क तथा स्यानिटाइजरको सही प्रयोग र नियमित मास्क लगाउन सबैमा अनुरोधसमेत गरेको छ ।
कार्यक्रमलाई थप प्रभावकारी र सफल बनाउन प्रहरीले अन्य सुरक्षा निकायलगायत सरोकार पक्षसँग आवश्यक समन्वय, सहकार्य गरी अनुगमनलाई समेत तीव्रता दिएको छ । रासस