हाम्रो देश
१२ असार २०७९, आइतवार

राष्ट्र रक्षा र प्रचण्ड–माधवको गद्दारी

 दयालबहादुर शाही    –

‘हर राष्ट्रले आफ्नो औकात अनुसारको नेता पाउँछ, हर देशले आफ्नो औकात अनुसारको जन्मभूमि पाउँछ ।’

सन्त नेता कृष्णप्रसाद भट्टराईले प्रधानमन्त्रीको हैसियतले २०४७ सालमा गरेको भारत भ्रमणको बेला निर्वाह गरेको भूमिकाको सराहना गर्दै सुविख्यात पत्रकार विजयकुमार पाण्डेले भनेको यो कथनको गूढ अर्थ छ । पाण्डेको पुस्तक ‘खुसी’मा कृष्णप्रसाद भट्टराईको उत्कर्षकाल र गलिसकेको अवस्थाको चर्चा छ । अग्रेजी उखान छ– ‘सिङ्क विथ प्रिन्सिपल स्विम विथ स्काउन्डस् ?’ अर्थात् सिद्धान्तसँगै डुब्ने वा ठगहरुसँग पौडिने ? यो उखान भट्टराईले सामना गर्नु परेको प्रतिकूल स्थितिको चित्रणमा प्रयोग गरेर ‘खुसी’मा निष्ठाको राजनीतिले निरन्तर सामना गर्नुपर्ने अवरोध र ठगहरुको जगजगीको सत्यमाथि संकेत गरिएको छ ।

कृष्णप्रसाद भट्टराई जस्तो सिङ्गो जीवन होमेर राजनीतिमा जमेको नेताले पनि हात उठाएर किनारा लाग्नुपर्ने तितो यथार्थले नेपालको राजनीतिमा ठगहरुको अधिकता र प्रभावबारे अनुमान लगाउन सकिन्छ ।

राजनीति ढाँटठगको विषय होइन खुला र स्पष्ट हुनुपर्छ भन्नेमा जननेता मदन भण्डारीको जोडबल रहेको छ । यस्तो आदर्शको विपरीत नेपाली राजनीतिले सामना गर्नु परेको संकट र वास्तविकता भने भिन्नै रहेको छ । ‘राष्ट्रपति तपाईँ नै हो’ भन्दै एकैसाथ गिरिजाप्रसाद कोइराला, माधवकुमार नेपाल, साहना प्रधान र रामराजाप्रसाद सिंहका कानमा चिनी हाल्ने ठग शिरोमणिको अवतरण नै अहिलेको नेपालले भोग्नु परेको मूल समस्याको नाभीस्थल हो । सके अधिनायकवादी नसके अवसरवादीको हाकाहाकी ठगीलाई जनताले सँधै क्षमा दिने अवस्था छैन अब ।

पुष्पकमल दाहाल प्रचण्डको इमान्दारिताको अभावको अलिखित खातामाथि जनताको अदालतले कार्यबाही प्रक्रिया सुरु गरिसकेको छ । २०५० को दशकको कांग्रेसको ईश्र्याले दरवार र दिल्लीसँग साँगगाँठ गर्ने, एमालेको गति, लय र संभावनामा क्षति पुर्‍याउन कोइरालासँग, कांग्रेस रोक्न एमाले र फोरमसँग साँठगाँठ गर्ने प्रचण्डको इतिहास हो । माधवकुमार नेपालको सरकार ढाल्न झलनाथ खनालसँग, एमाले–कांग्रेस गठबन्धन तोड्न तथा सुशील कोइरालामाथि प्रतिशोध साँध्न ओलीसँग, ओली र एमाले ताछ्न देउवासँग, ओलीको लोकप्रियताप्रतिको जलनले माधव, झलनाथसँगको हिमचिम, निकटता, साँठगाँठ प्रचण्डको उपयोगितावादी राजनीतिको सिलसिला हो

एकका बिरुद्ध अर्कालाई उपयोग र काखैमा रहेर पनि सुम्सुम्याएर सिध्याउने प्रचण्डको चर्तिकला देखेर वनका ब्वाँसाहरु पनि छक्क पर्ने अवस्था छ । प्रचण्डको प्रयोग गरी एमालेको बेग रोक्न खोज्ने गिरिजाप्रसाद कोइरालाको निष्कर्ष ब्वाँसोले आफ्नो शरीरको लुतो हटाइदेला ठान्ने सोझो अर्नाको जुम्स्याइँ जस्तै थियो । आज पनि ब्वाँसोको फन्दाको चाल नपाउने सोझो अर्ना प्रवृत्ति जब्बर छ । गुटगत स्वार्थ र दलगत स्वार्थलाई शिरान हालेर प्रचण्डको शरण पर्ने माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, शेरबहादुर देउवा, रामचन्द्र पौडेलहरुको जुम्स्याई राष्ट्र रक्षा र समृद्धिको प्रमुख तगारोको रुपमा रहेको छ । केपी ओली पे्ररित एमालेको आँट, अठोट र औकातदेखि डाह गरेर प्रचण्डबाटको पीडा बिर्सने होडबाजी नै प्रचण्डको बेइमान राजनीतिको बजार हो । नेपाली जनताको चेतनाको दियो भने भिन्नै छ ।

एमालेले इतिहासको निर्णायक मोडमा जननेता मदन भण्डारी र राजनेता केपी शर्मा ओली जस्ता तेजकरार महानायकहरु पायो । जनताको सचेतना, जनताको एकता, जनताको शक्ति र जनताको आशिर्वाद नै चुनौतीहरुसँग जुध्ने सबैभन्दा भरपर्दो हतियार हो ।

प्रचण्डले पारेको देश ऐठनप्रतिको जनताको जागरण, हस्तक्षेप र जनदण्ड सराहनीय छ । मिल्नेसँग नौनीको डल्लो र चिल्नेसँग बिच्छीको चल्लो हुँदै २०३० को दशकदेखि नेपालको राजनीतिमा प्रभाव जमाउँदै आएका जनताको बहुदलीय जनवादीहरुले मात्र प्रचण्डको आँखाको चाल बुझ्न सक्छन् र प्रकट वा छद्म दुबै अवस्थाको अधिनायकवादका लागि निदहरामका विषय बनेका छन् ।

एमाले पार्टीको शक्ति ऐठन र देशको शक्ति ऐठन गराउने तत्वलाई जनदण्डको भागेदार बनाउन सक्ने गरी जनमतको निर्माण र जनपरिचालन गर्न सक्ने कला नै बहुदलीय जनवादीहरुको उदयको आधार हो । विजयकुमार पाण्डेले भनेझैं आफ्नो उत्कर्षकालमा कांगे्रसले टाउको भएको तर खुट्टा नभएको नेताका रुपमा कृष्णप्रसाद भट्टराई र खुट्टा नभएको टाउको नभएको नेताका रुपमा गिरिजाप्रसाद कोइरालालाई पायो ।

फलतः कांग्रेस चुनौतीलाई चिन्न र चिर्न असफल भयो । एमालेले इतिहासको निर्णायक मोडमा जननेता मदन भण्डारी र राजनेता केपी शर्मा ओली जस्ता तेजकरार महानायकहरु पायो । जनताको सचेतना, जनताको एकता, जनताको शक्ति र जनताको आशिवार्द नै चुनौतीहरुसँग जुध्ने सबैभन्दा भरपर्दाे हतियार हो । जनताको एकीकृत पहल र हस्तक्षेपप्रतिको निष्ठा, कला र संस्कारले युवाहरुको हरेक पुस्तालाई युक्त पार्नमा जनताको बहुदलीय जनवादी स्कुलिङका महागुरु भण्डारी र ओलीको जोडबल रहने गर्‍यो ।

सचेत, संंगठित र आन्दोलित जनता, इशारा बुझ्ने गतिशील र अनुशासित युवा पुस्ता र समय चेत बोकेको सुविचारित विचार सिद्धान्त भएको राजनीतिक दल कसैले चोर औलो ठड्याउदैमा कुहेर जाने फर्सी कुभिण्डो होइन । मोदीमय भारतको लागि बेचैनीको विषय ओलीमय नेपाल बन्नुको आधार नै नेपाली जनताको असली औकात हो र हिमालयजस्तै उचो, मजबुत, शान्त र स्निग्ध स्वाभिमान हो ।

ओली प्रेरित युवा पुस्ता नै एमालेको शक्ति ऐठन पार्ने माधव–झलनाथ प्रवृत्तिको लागि आँखाको कसिंगर हो र नेपालको शक्ति ऐठन पारेर भारतीय हस्तक्षेपलाई सघाउने प्रचण्डहरुदेखि नेपालीको स्वाभिमानप्रति ईश्या गर्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसम्मकाको साझा टाउको दुःखाइका विषय हो । प्रचण्ड र माधव नेपालहरुलाई गुजारा चलाउन ओलीको टेबल उल्टा पारेर भारतका लागि कम्फरटेबल हुनु छ तर बहुदलीय जनवादीहरुले जनताको एकता मजबुत पार्दै, विश्वास जित्दै, आशिर्वाद थाप्दी मोदी भक्तहरुलाई हप्काउने हैसियत हासिल गर्नु छ र कायम राख्नु छ ।

कमजोर लोकतन्त्र र विभाजित जनमतमा अधिनायवाद र हस्तक्षेपलाई समान लाभ रहेकाले कम्फरटेबल साहित्य रचिएको छ । प्रचण्ड र भारतका छक्कापन्जाका अगाडि लोभी, अदूरदर्शी, पामर र निर्देशित नेताहरु मैनझै पग्लिए पनि ओली नगल्नुमा देशभक्ति र दूरदृष्टिको रसायनले काम पाएको छ । भूकम्पले ढालेको धरहरा, माधवले ढालेको एमाले, प्रचण्डले गालेको सेना र गिरिजाप्रसाद कोइरालाले प्रचण्डलाई सुम्पिएको लोकतन्त्र फेरि उठ्नुको एकलौटी श्रेय ओलीलाई जान्छ ।

सन्तसँग सरल, शालीनसँग नरम, विद्धतसँग विद्धत र घामडसँग महाघामड बन्न सक्ने ओलीको बहुआयामिक ब्यक्तित्व संकटग्रस्त नेपालका लागि झाडापखालका बिरामीलाई जीवनजल सरह साबित भएको छ । प्रचण्डले ईच्छा नहुँदा नहुँदै पनि हिंसा त्याग्न बाध्य हुनुमा, अधिनायकवादी अभिष्ट लुकाउन बाध्य हुनुमा, शक्ति पृथकीकरणको लोकतान्त्रिक जनै लगाउनुमा, चुनाबी तालमेल र एकताको नाटक मञ्चन गर्नुमा बहुदलीय जनवादी विचारधाराले पारेको चेपानको महत्वपूर्ण भूमिका रहेको छ । राज्य र सेनाको सीप नचलेको अधिनायकवाद र उग्रवामन्थ जुम्ल्याहा ठगलाई लोकतन्त्रको परेड खेलाउनु जनताको बहुदलीय जनवादीहरुले पाएका सफलता मध्ये महान्तम र सर्वश्रेष्ठ सफलता हो ।

कमजोर लोकतन्त्र र विभाजित जनमतमा अधिनायवाद र हस्तक्षेपलाई समान लाभ रहेकाले कम्फरटेबल साहित्य रचिएको छ । प्रचण्ड र भारतका छक्कापन्जाका अगाडि लोभी, अदूरदर्शी, पामर र निर्देशित नेताहरु मैनझै पग्लिए पनि ओली नगल्नुमा देशभक्ति र दूरदृष्टिको रसायनले काम पाएको छ ।

मरेको बाघको जुँगा उखेल्नु र ढलेको रुखको टुप्पो चढ्नु सजिलो ठान्ने मानवीय कमजोरी राजनीतिमा यदाकादा दोहोरिने खतरा रहन्छ । तर राजनीतिमा हासिल गरेका सफलता वा चिर्न सकेका चुनौतीलाई सानो सम्झने मानवीय कमजोरी दोहोरिन दिनु हुँदैन । जनयुद्धको उठानदेखि नै नेपाल राष्ट्र खारेजीको ठूलै षडयन्त्र भएको संकेत विभिन्न गतिविधि, चलखेल, साँठगाँठ र हर्कतहरुको समष्ठी अध्ययनबाट थाहा पाउन सकिन्छ ।

राप्ती, भेरी र कर्णालीमा शहिद खेती र मानव ढाल उद्योग चलाएर प्रचण्ड र डा. बाबुरामलाई नोयडाका मानव तबेलामा भारतीय संस्थापनले थुनेर बिद्रोहको लगाम नै नियन्त्रणमा राख्नुको अभीष्ट के थियो ? संविधान घोषणाजस्तो राष्ट्रिय अठोट र महोत्सवबाट नेपाललाई पछि हटाउन एस जयशंकरलाई विशेष दूतका रुपमा किन पठाइयो ?

प्रदीप गिरीले ख्याती र गगन थापाले संभावनासँग संझौता गरेर नेपाली कांग्रेसलाई संविधानको घोषणा जस्तो राष्ट्रिय संकल्पबाट बिमुख गराउन कम्मर कस्नुको कारण के थियो ? एकाएक टिकापुरमा रचिएको जातीय विद्वेष, नाकाबन्दी, सीमा घेराऊको कारण के थियो ? संसदले लिम्पियाधुरामाथि गरेको हकदाबी पछि नेपालको लागि जंघारको लौरो बनेको दुईहिाई बहुमत नजिकको सत्तारुढ दलको बिभाजन गर्न एकाएक ओलीबिरुद्ध प्रचण्ड, माधव र झलनाथहरुलाई किन उतारियो ? यी सवालहरु यस्ता आँखी झ्यालहरुहरु हुन् जसबाट हामी अधिनायवादको लोकतन्त्र प्रतिको नियत र विस्तारवादको नेपालप्रतिको हकर्तलाई चियाउन सकिन्छ ।

राष्ट्र निर्माण, राष्ट्र रक्षा एक निष्ठा, कला र विज्ञान हो । निष्ठाको बारीमा विचरण गर्ने धमिरा, छेपारा र चमेरा धपाउनकै लागि हो देशभक्तहरुको जीवन । जुन देशको, जुन पुस्ताले आफ्नो समयमा यसप्रकारको संवेग फैलाएर जनउभार ल्याउन सक्छ त्यो देशले, त्यो देशका जनताले बर्बादी र असफलता भोग्नु पर्दैन । देशको उभोगति र अधोगति समकालीन जनताको चेतना, एकता, त्याग, जुझारुपन, तीक्ष्ण राजनीतिक सुझबुझ, देशको आफ्नो शस्त्र बल र शास्त्र बल जस्ता सामथ्र्यहरुले निर्धारण गर्दछन् । मातृभूमि नेपाल पूर्खाहरुको ठूलो त्याग, तपस्या, सुझबुझ, मेहनतले बनेको मुलुक हो । चीन र भारत जस्ता विशाल भूगोल, ठूलो जनसंख्या र विराट अर्थतन्त्र भएका देशले सीप नचलेर जुन अंग्रेज साम्राज्यसँग शिर झुकाएका थिए त्यही अंग्रेजसँग शानदार युद्ध लडेर नेपालले संझौता र दौत्य सम्बन्ध स्थापित गरेको थियो

यसको निर्माणका लागि पृथ्वीनारायण शाहले २० वर्षे रहरलाग्दो उमेरदेखि जोतिएर लगातार ३२ वर्ष लामो धपेडीपछि ५२ वर्षको अल्पायुमै जीवन गुमाएका थिए । विश्वेश्वरप्रसाद कोइराला र पुष्पलाल श्रेष्ठको पुस्ताले जेलजीवन, निर्वासनको सामना गर्दै लोकतान्त्रिक जनमत, लोकतान्त्रिक दलहरुको निर्माण र वैचारिक, राजनीतिक चिन्तनको परम्परा बसाल्नमै सिंगो जीवन खर्चिएको छ ।

वामपन्थी आन्दोलनको लोकतान्त्रीकरण मदन भण्डारीले आधुनिक नेपाललाई लगाएको बिर्सनै नहुने गुन हो । ओढारका हकदार वामपन्थीहरुलाई राजकीय भण्डारको हकदार बनाउने गरी विचार, जनाधार र सदाचारको लिकमा उभ्याएर ठूलो रक्तपातबाट नेपाललाई जोगाउन मदनको मति, गति र सरस्वती खपत भएको छ । केपीमा रहेको अडान, देशभक्ति, लोकतान्त्रिक निष्ठा र व्यवहारवादी क्रान्तिकारी चेतले पृथ्वी, वीपी, मदन अल इज वनको जटिल कनेक्सन आजको नेपालमा संभव भएको छ । सबै खाले सकारात्मक विरासत रक्षाको लागि दरबार, दिल्ली, उग्रवामपन्थी, वामपन्थी आन्दोलनको फुटवाद, एमालेको शक्ति ऐठनकारी तत्वको चव्रmव्युह तोड्न जीर्ण र जर्जर कायाका केपी ओलीले सामना गर्नु परेको घातैघातको सृंखला हेर्दा घाउ नै घाउले भरिएको अचानोले पनि हात उठाउने र प्वालै प्वालले भरिएको चाल्नोका पनि आँखा रसाउने अवस्था छ ।

ओलीले सामना गर्नु परेका प्रमुख सहकर्र्मीहरु प्रचण्ड, माधव, झलनाथ र वामदेवहरुको वामपन्थी आन्दोलनका माकुरीमा माऊ बन्ने रहरले गर्दा ओलीको पालामा मातृभूमि नेपाल पाउनु पर्ने बिकास र समृद्धिको सौभाग्यबाट बन्चित हुने खतरा बढेको छ । जनताको सराहनीय साथ, धाप र आशिर्वाद पाएर चुनाबी संग्रामबाट विजेता बनेको विश्वको एक मात्र कम्युनिष्ट पार्टीको सफलता रुपी प्रताप सूर्यलाई नेपाली राजनीतिका आग्रही लाटोकोसेराहरुले हिसाबकिताब सहित हेर्न चाहिरहेका छैनन् । ओलीको लोकप्रियताप्रतिको जलनले नक्कली बुढानीलकण्ठ र नक्कली काशी तीर्थको शरण र चरण ओली बिरोधीहरुको दैनिकी बनेको छ ।

भारतीय हस्तक्षेप र दादागिरीमा भन्दा ओलीमा समस्या देख्ने, ओलीप्रतिको जनलहरदेखि जल्ने र ओलीमाथि नै खनिने प्रचण्ड–माधवको सौतेनी चिन्तन वलिवुड फिल्म पद्मावतीकी पात्र नागमतीको सौतेनी प्रवृत्ति जस्तै रहेको छ । दिल्लीका सुल्तान उलाउद्धिन खिल्जी(रणवीर सिंह)ले पद्मावती(दीपिका पादुकोण)को सुन्दरताबाट लोभिएर उनलाई पाउनको लागि चितौरमाथि आक्रमण गर्छन् । चितौरमाथिको संकटको दोष रानी पद्मावतीकी सौता रानी नागमती (अनुप्रिया गोयन्का)ले पद्मावतीको सुन्दरता रहेको औंल्याउछिन् । यसको प्रतिवाद गर्दै पद्मावती भन्छिन्– “दोष मेरो सुन्दरतामा छैन । उलाउद्धिनको खराब नजर र खराब नियतमा छ ।”

केपी ओलीको देशभक्ति र चुनावको माध्यमबाट विश्वको एक मात्र दलका रुपमा एमाले र नेकपालाई स्थापित गर्ने हुटहुटी सुरुदेखि नै भारतलाई रुचेको छैन । ओलीमा समस्या छ भन्दै मोदीको ताबेदारी गर्ने प्रचण्ड, माधव, झलनाथ र वामदेवहरुको नागमती प्रवृत्ति नेपालको राजनीतिक समस्याको चुरो हो । नाकाबन्दीको बेला नेपाली जनताले कति कष्ट उठाए नागमती प्रवृत्तिलाई मतलब छैन । आपूर्ति व्यवस्था सहज नपारेको झोकले युवापुस्ताले ढुंगामुडा गरेर ओली सरकार विस्थापित गर्ला ठानेर नाकाबन्दी गरिएको थियो ।

एमालेभित्र, वामपन्थी आन्दोलनभित्र र नेपालभित्रका ओलीबिरोधीहरुको अनुमान विपरीत ओलीको निम्ति होइन भोलिको निम्ति भन्दै नाकाबन्दीको समाना गरेर नेपाली जनताले भारतको सातो उडाए । युवापुस्ताले इतिहासको एक निर्णायक मोडमा विवेक र साहस देखाएर देशलाई विजयी बनाएकोमा स्याबासी दिनु छैन आजतक पनि जिँउदोजाग्दो युवापुस्तालाई ओलीका दास भन्दै जुनढंगले अपमानित गरिदै छ,

यो हर्कत विनाशकाले विपरीत बुद्धि हो । रुसले व्रिmमियाँ समस्यामा आफ्नो मतलब पूरा गरे जस्तै नेपालको द्वन्द्वबाट लाभ उठाउने सपना ध्वस्त पारेको रिसले भारत ओलीका बिरुद्ध नागमती प्रवृत्तिका पात्रहरु गठजोड गर्न निरन्तर लागिपरेको छ । घरको भार थामिरहेको बलियो खम्बा उखेल्ने नीति प्रयोग गरेर नेपाललाई निरन्तर कमजोर पार्ने हालको भारतीय रबैया उहिले अंग्रेजले पंजाब हडप्न अपनाएको तिगडम जस्तै रहेको छ । यसर्थ यहाँ पंजावको पतन र अंग्रेजको दाउपेचको उक्त इतिहासमाथि प्रकाश पार्नु सान्दर्भिक हुनेछ ।

केपी ओलीको देशभक्ति र चुनावको माध्यमबाट विश्वको एक मात्र दलका रुपमा एमाले र नेकपालाई स्थापित गर्ने हुटहुटी सुरुदेखि नै भारतलाई रुचेको छैन । ओलीमा समस्या छ भन्दै मोदीको ताबेदारी गर्ने प्रचण्ड, माधव, झलनाथ र वामदेवहरुको नागमती प्रवृत्ति नेपालको राजनीतिक समस्याको चुरो हो ।

नोभेम्बर १८४६ मा अंग्रेज शिख युद्ध भयो । यही बीचमा अंग्रेजलाई सघाउने गरी मन्त्रीमा लाल सिंह र सेनापतिमा तेज सिंहलाई थपना गरियो । उनीहरुलाई शिख सेनाको मनोवल उचो राख्नु थिएन । जनताको एकता सुदृढ पारेर युद्धका लागि आर्थिक, सामरिक र रणनीतिक तयारी गर्नु भन्दा पनि अंग्रजको नजरमा प्रिय बन्ने होड थियो । लक्ष्य नै आफ्नो सेनालाई हराउनु भएकाले उनीहरुले सेनालाई ठीक ठीक ठाउँमा आव्रmमण गर्न दिएनन् ।

एकै पटक गर्भनरमाथि हमला गर्न लगाए । मुदकी, फिरोजपुर फिरुसहरको लडाइँमा लाल सिंहले गद्दारी गरे । तेज सिंहले सेना र राष्ट्रप्रति गरेको घात सुरुमा फिरोजपुरमाथि आक्रमण गर्नबाट सेनालाई रोक्नु, अंग्रेजको गोलाबारुद सकिएको बेला युद्धको अवधि लम्ब्याएर अंग्रेजलाई गोला बारुद संग्रह गर्ने मौका दिनु थियो । यस्तो नेतृत्वका बाबजुद शिख सेना बुढोबलको युद्धमा विजयी भयो ।

सफल सेनापति पाएको भए यस युद्धमा शिख सेनाले अंग्रेज सेनालाई पूर्ण रुपमा हराउन सक्ने थियो । यसबारेमा ‘आधुनिक भारतको संक्षिप्त इतिहास’का लेखक खेमराज पोखरेल लेख्नु हुन्छ–“लाल सिंह र तेज सिंहको गद्दारीमा सामेल हुन गुलाब सिंह आइपुगे । उनी अंग्रेजसँग मिलेर शिख सेना भंग गर्न तयार भैसकेका थिए तर यसै बेला १० फेब्रुवरी १८४६ मा सतलज नदीको किनारमा सुवराव मैदानमा दुबै पक्षका बीचमा भीडन्त भयो । जब लडा शिख सेनाले जित्न आँटे लाल सिंह र तेज सिंह सेना छोडेर भागे र सतलज नदी तरी सो पुल नष्ट गरिदिए ताकि शिख सेना भागेर आउन नपाउन् र उनीहरुको पराजय होस् । सेना संचालकले आफ्ना सेनाको बिरुद्धमा यस्तो कृतघ्न काम गरेको इतिहासमै नौलो मानिन्छ । सुवरावको युद्धमा नेताविहीन शिख सेनालाई पूर्ण रुपमा पराजित गरेपछि सतलज नदी तरेर अंग्रेजले लाहौरलाई घेरे ।

फल स्वरुप ९ मार्च १८४६ मा लाहौर सन्धि भयो ।” यस सन्धिले कास्मिरलाई पन्जाबबाट अलग राज्य बनायो । पन्जावका राजा दिलिप सिंहलाई कायमै राखियो । पन्जावलाई गरेको घात र अंग्रेजलाई गरेको गुलामीको पुरस्कार स्वरुप गुलाब सिंह कास्मिरका राजा बने । शिख सेना भंग गर्न लाहोरमा अंग्रेज सेना राखियो ।

पछि सुल्तान बिद्रोह दबाउन नसकेको निहुँ टिपेर सन् १८४८ मा भएको दोश्रो अंग्रेज–शिख युद्धमा पनि पन्जावको हार भयो । अंग्रेज समर्थक सामन्तहरु र अंग्रेजले भरिएको भारदारी सभा पन्जाबमाथि माकुरी माउको रुपमा थोपरिएको थियो । त्यही भारदारी सभाले २९ मार्च १८४९ मा पन्जावलाई विधिवत रुपमा ब्रिटिश साम्राज्यमा समावेस गर्ने निर्णय गर्‍यो । शिख सेनाको विघठन र पन्जावको शानको रुपमा रहेको कोहिनूर हिराको समर्पण गराउने शर्तहरु लादियो । एक एक गरी पन्जाबलाई निर्वस्त्र र निशस्त्र बनाएर स्वाभिमान र सुरक्षा कबचबाट रहित पारियो । यी दुई घटना पन्जावले भोग्नु परेको अपमान र पतनका प्रतिनिधि घटना थिए । अन्ततः सन् १८४९ को मार्चमा पन्जाव अंग्रजी राज्यमा विलय गराइयो ।

नेपाल संकटको अन्तर्य

विश्वमा आक्रामक अवस्थामा रहेका पूँजीवादी प्रजातन्त्रवादीहरु नेपालमा एमालेले जनताको विश्वास जित्दै अघि बढ्दै गरेर चुनावमा पूँजीवादी पार्टीहरुलाई पराजयको स्वाद चखाएकोमा मदन–मनमोहनको पालादेखि नै बेखुसी थिए । राजा, कांग्रेस वा माओवादीको घानमा पारेर एमालेलाई समाप्त पार्नकै निम्ति जनयुद्धदेखि प्रतिगमनसम्मका गलत र अलोकतान्त्रिक शक्ति अभ्यासहरु भए ।

यही बेला २०५४ सालमा वामदेव, सीपी, घनश्याम र योगेशहरुलाई पन्जावलाई घात गरेर अंग्रेजलाई साथ दिने लाल सिंह, तेज सिंह र गुलाब सिंह ब्राण्डका गद्दारका रुपमा उतारेर एमालेको क्षयीकरण गराइयो । बीचको अवधिमा माधव नेपाल रंग वा पानी रंगमा आएपछि भने एमालेलाई विष नभएको सर्पलाईझै टेर्न र हेर्न छाडियो । आस र त्रास केही नरहेपछि माधव र झलनाथको पालामा कांग्रेसको रखैल हुन्छ वा माओवादीको चखैल हुन्छ भन्ने सन्देहको बाक्लै घेरामा एमाले पर्‍यो ।

युथफोर्समा गोलबन्द नेपाल आमाका असल सन्तानहरु जब मिल्नेसँग नौनीको डल्लो र चिल्नेसँग बिच्छीको चल्लो हुनुको महानायकीय मर्यादामा रहेर मुलुकमा लुटपाट, चन्दा आतंक र छद्मयुद्ध जारी राखिरहेको प्रचण्डगणलाई दह्रो टक्कर दिन्थे तब झलनाथको बहुदलीय जनवादप्रतिको सञ्चित प्रतिशोध र पूर्वाग्रह छताछुल्ल हुन्थ्यो– “यो बहुदलीय जनवाद होइन, वास्तवमा बाहुबलीय डनवाद हो ।”

एमालेको पुनरोदयको संभावनाको ढोका ढकढक गर्ने युथफोर्स आन्दोलन थियो । युथ फोर्सले माओवादीसँग पन्जा लडाउन यो जुनीमै संम्भव छैन भन्दै गोकर्ण बिष्ट, योगेश भट्टराई र घनश्याम भुसालले एमालेको तत्कालीन संस्थापन र माओवादीको एकैसाथ प्रत्यक्ष वा परोक्ष रुपमा ताबेदारी मात्र गरे । माओवादीले जब धाँदली गरेर सफलता पाउँथ्यो तब झलनाथ खनालको दिमागमा माओवादीको ताबेदारी साहित्य फुथ्र्यो– “संविधान सभामा वामपन्थीहरुको स्पष्ट बहुमत छ ।”

युथफोर्समा गोलबन्द नेपाल आमाका असल सन्तानहरु जब मिल्नेसँग नौनीको डल्लो र चिल्नेसँग बिच्छीको चल्लो हुनुको महानायकीय मर्यादामा रहेर मुलुकमा लुटपाट, चन्दा आतंक र छद्मयुद्ध जारी राखिरहेको प्रचण्डगणलाई दह्रो टक्कर दिन्थे तब झलनाथको बहुदलीय जनवादप्रतिको सञ्चित प्रतिशोध र पूर्वाग्रह छताछुल्ल हुन्थ्यो– “यो बहुदलीय जनवाद होइन, वास्तवमा बाहुबलीय डनवाद हो ।”

पार्टीपंक्तिलाई ठिक समयमा ठिक ठाउँमा हमला गर्न र प्रतिरक्षा गर्नबाट रोक्ने खनालको यो शक्ति ऐठनकारी भूमिका आफ्ना सेनालाई हराउने लाल सिंह ब्राण्डको गद्दार सेनापतीय भूमिका थियो । प्रचण्डलाई हेर्ने, बुझ्ने र फेर्ने सवालमा लगभग एक्लो परेका केपी ओलीले सेनापति काण्डको बेला गिरिजाप्रसाद कोइराला र रुक्मांगद कटवाल जस्ता बघिनीको दूध खाएका मानव डमरुको साथ पाएपछि नै एमालेको दियोको तेल सकियो भनेर ढोल पिट्तै खुसियाली मनाउने जतिको ओरालो यात्रा सुरु भयो ।

केपी, कोइराला र कटवाल बीचको कनेक्सन नै राज्यको जननिर्वाचित अंग कार्यपालिका र सेना बीच कोरिएको मर्यादाको लक्ष्मण रेखा हो, जहाँभित्र नेपालको आन्तरिक एकताको अनन्त ऊर्जा र अटल सौभाग्य सुरक्षित छ । अधिनायकवाद र विस्तारवादले अपूरनीय क्षति भोगेको घटना पनि सेनापति काण्ड नै थियो । त्यस यता ओलीले कहिल्यै पनि पिठ फर्काउनु परेको छैन ।

आजको नेपालमा जति पनि शक्ति संघर्ष चलिरहेको छ, पन्जावको भारदारी सभालाई अंग्रेजको हितमा र सिक्कमको संसदलाई भारतको स्वार्थ अनुसार कठपुतलीझै नचाएको इतिहास नेपालमा प्रयोग गर्ने र प्रतिरोध गर्ने शक्ति बीचको टक्करको परिणाम हो । एमाले–माओवादी एकीकरणमा प्रचण्डको मक्सत र भारतीय रुचि ओलीको कमजोर स्वास्थ्यतिर परिलक्षित रहेको यथेष्ट आधार र प्रमाणहरु जुटिसकेका छन् ।

सकभर सिंगो देशमाथि, त्यो नभए एमालेमाथि पन्जाबको अंग्रेज परस्त भारदारी सभाको इतिहास दोहोर्‍याउनका लागि तत्कालिन नेकपाका माथिल्ला कमिटी र संसदलाई नियोजित रुपले निरन्तरको षडयन्त्रको प्रयोगभूमि बनाइएको थियो । ओलीप्रेरित कार्यकर्ता र युवापुस्ताप्रतिको जलनले देउवा शरणम् गच्छामी र मोदी गच्छामीको भाषा बोल्ने र वामपन्थी कित्ताको भेदरेखा भुल्ने प्रचण्ड, माधव र झलनाथको कृतघ्नताले युद्ध संचालक भएर लाल सिंह, तेज सिंह र गुलाब सिंहले आफ्नै सेनामाथि गरेको कृतघ्नतालाई माथ गरेको छ ।

 –    नेपाली बहसबाट