हाम्रो देश
१३ असार २०७९, सोमवार

भारतमा कोरोना संक्रमणको नयाँ रेकर्ड, एकैदिनमा ४ लाख बढीमा संक्रमण पुष्टी

आज सार्वजनिक रिपोर्ट अनुशार भारतमा कोरोना संक्रमणको नयाँ रेकर्ड कायम भएको छ । विगत २४ घण्टामा ४ लाख १ हजार ९ सय ९३ जनामा संक्रमण पुष्टी भएको आधिकारिक रिपोर्ट सार्वजनिक भएको छ ।

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुशार विगत २४ घण्टामा भारतमा कोरोना संक्रमणबाट ३५ सय २३ जनाको मृत्यु भएको छ । फेब्रुअरीको अन्तिमदेखि भारतमा ७७ लाख कोरोना संक्रमित थपिएका छन् । यसअगाडि ७७ लाख संक्रमण पुष्टी हुन भारतमा ६ महिना लागेको थियो ।

भारतमा कोरोना संक्रमण तीब्र बनेपछि अष्ट्रेलियन सरकारले भारतको यात्रालाई हालका लागि गैरकानुनी बनाएको छ । अस्ट्रेलियन सरकारले त्यहाँबाट फर्कने आफ्ना नागरिकलाई पाँच वर्षसम्म जेलसजाय हुनसक्ने जनाएको छ । भारतमा जोखिम समुहमा रहेका अष्ट्रेलियनहरुको संख्या उल्लेख्य भएपछि अष्ट्रेलियन सरकारले यस्तो निर्णय गरेको हो ।

भारतमा कोरोनाभाइरस सङ्क्रमित भई क्वारन्टीनमा बसिरहेका अस्ट्रेलियाका नागरिकहरूको सङ्ख्या उल्लेख्य रहेको छ । अस्ट्रेलियाले भारतबाट हुने सबै उडानहरूमाथि प्रतिबन्ध पनि लगाइसकेको छ ।

भारतमा हाल झण्डै नौ हजार अस्ट्रेलियन नागरिक रहेको अनुमान गरिएको छ । उनीहरुमध्ये ६ सय जनालाई जोखिम समूहमा राखिएको बीबीसीले जनाएको छ ।

भारतबाट फर्कदै गरेका अस्ट्रेलियाका नागरिकमाथि सरकारको कदमको कतिपयले विरोध समेत गरेका छन् । आफूहरुका परिवारहरू भारतमा मरिरहेको र त्यहाँबाट निस्कनुको विकल्प नरहेको अवस्थामा उनीहरुलाई निकाल्न पहल गर्नुको साटो यस्तो प्रतिबन्ध लगाइनु गलत रहेको भन्दै विरोध भएको हो ।

विगत १४ दिनमा भारतको यात्रा गरेका अष्ट्रेलियनहरुलाई समेत सोमवारबाट लागु हुने गरी यात्रा प्रतिबन्ध लगाइएको छ। उक्त नियम उल्लङ्घन गर्नेहरूलाई पाँच वर्षसम्म जेल सजाय वा ६६ हजार अस्ट्रेलियाली डलर जरिवाना अथवा दुवै सजाय हुन सक्ने जनाइएको छ ।

अमेरिकाले पनि मे ३ को राती १२ बजेपछि अर्थात् मे ४ मंगलबार सुरु हुनासाथ लागु हुनेगरी भारतबाट अमेरिका आउनमा अधिकांशलाई यात्रा प्रतिबन्ध लगाएको छ । विश्वभर देखिएका कोरोनाका संक्रमणहरुमा एक तिहाई भारतमा देखिएको र अमेरिका प्रवेश गर्ने यात्रुहरुबाट अमेरिकाको जनस्वास्थ्यलाई संरक्षण गर्नुपर्ने भएकाले नयाँ मापदण्डको घा्षणा गरिएको हो । यो प्रतिबन्ध अनुशार विगत १४ दिनमा भारतमा रहेका अमेरिकी नागरिकबाहेकका अधिकांश यात्रुहरुलाई अमेरिका आउनमा रोक लगाइएको छ ।

ग्रिनकार्डवाहक, परिवारका सदस्यहरु र विद्यार्थी लगायतका अन्य केही गैर नागरिकहरुलाई भने अमेरिका आउनमा छुट दिइएको छ । भारतमाथि लगाइएको यात्रा प्रतिबन्धको निर्णय एकदमै छिटो गरिएको र २४ घण्टामै यो निर्णयमा पुगिएको जनाइएको छ ।

बेलायत, जर्मनी, इटली र सिंगापुर लगायतले पनि भारतबाट आउने यात्रुहरुमाथि यस्तै प्रतिबन्धहरु लगाएका छन् । क्यानडा, हङकङ र न्युजिल्याण्ड लगायतले त भारतसँगका सबै व्यापारिक उडानहरु स्थगित गरेका छन् ।