हाम्रो देश
१३ असार २०७९, सोमवार

निषेधाज्ञाका कारण १० लाख यातायात मजदूर प्रभावित

गत बिहीबार बिहानदेखि लागू गरिएको निषेधाज्ञाका कारण झण्डै डेढ लाख सार्वजनिक सवारी साधनमा काम गर्ने १० लाख यातायात मजदूर प्रभावित भएका छन्।

उपत्यकासहित मुलुकका मुख्य मुख्य सहरमा निषेधाज्ञा लागू भएसँगै यात्रुवाहक सार्वजनिक यातायातमा ज्याला मजदुरी गर्ने मजदूर कामविहिन भएको नेपाल सार्वजनिक यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ।

महासंघका महासचिव सरोज सिटौलाले निषेधाज्ञाका कारण मुलुक भरबाट झण्डै डेढ लाख कालो नम्बर प्लेट धारी सार्वजनिक यातायातहरू प्रभावित हुँदा त्यसमा काम गर्ने सबै मजदूर प्रभावित भएको बताए।

गत वर्ष लकडाउनकै कारण हजारौं यातायात मजदूर विस्थापित भएका थिए भने यातायात व्यवसाय नै माथि उठ्न नसकेको अवस्थामा पुनः कोरोना संक्रमणको दोस्रो लहरका कारण उठ्न नसक्ने गरि थला पर्ने महासचिव सिटौलाको भनाइ छ।

आज मजदूर दिवस मनाइरहँदा निषेधाज्ञाका कारण लाखौं मजदूर कामविहिन भएर बस्नु पर्ने स्थिति आउँदा मजदूरहरूसमेत मर्कामा परेको उनले बताए।

सरकारले कोभिड महामारीको उच्च जोखिम रहेको भन्दै उपत्यकामा निषेधाज्ञा जारी गरेको छ। अत्यावश्यक बाहेकका सार्वजनिक, सरकारी तथा निजी सवारी सञ्चालनमा रोक लगाइएको छ। तर हवाई सेवाहरु भने निर्वाध सञ्चालन भइरहेका छन्।

कोभिड नियन्त्रणमा सरकारको नियम मानेर कालो प्लेटका सवारी ठप्प बसे पनि हवाई सेवा खुला भएकामा उनले असन्तुष्टि व्यक्त गरेका छन्।

हवाई सेवा खुला भएकैले चौतर्फी ट्राफिक जाम बढेको तथा सबै सेवा बन्द भएपछि सरकारी कार्यालय, बैंक लगायतका अफिसहरु खुल्ला गर्न जरुरी नभई कोरोना जोखिम मात्रै भएको बताए।

सरकारले कोरोना नियन्त्रणका लागि भन्दै सार्वजनिक सवारी ठप्प पारे पनि हवाई सेवा कायमै राख्दा थप जोखिम बढेको उनको भनाइ छ। आफ्नो व्यवसाय बन्द गरेर सडकमा गुडेका गाडी टुलुटुलु हेरेर बस्नु परेको भन्दै उनले सरकारले पुनर्विचार गर्ने बताए।

‘हवाई सेवा सञ्चालन भइराख्ने हो भने उपत्यकाको कोरोना पनि बाहिर पुग्छ बाहिरको कोरोना पनि उपत्यका छिर्छ। सार्वजनिक सवारी ठप्प पारेर मात्रै कोभिड नियन्त्रण हुँदैन’, उनले भने।
कोरोना नियन्त्रण नै गर्ने हो भने विभेदकारी निर्णय गरेर सञ्चालन गरिरहेको हवाई सेवा पनि बन्द हुनुपर्ने उनी बताउँछन् । ‘यस्तै परिस्थिति रहिरहने हो भने कुनै पनि बेला हाम्रो पनि धैर्यताको बाँध टुट्न सक्छ। यात्रुबाहक सवारी त खरानी नै भएको छ। मजदूरहरूको हालत के होला?’

सरकारले यो विषयमा केही नसोचेको भन्दै सिटौलाले गतवर्षको लकडाउनमा पनि सरकारले सहुलियत नदिंदा अहिलेसम्म पनि यातायात व्यवसायी घाटामा काम गरिएको बताए। गाडि थन्किए पनि बैंकको ब्याज मिटर जस्तै बढिरहेको तर सरकारले यातायात व्यवसायीलाई जहिल्यै विभेद पूर्ण व्यवहार गर्दै आएकाले अब यस्तो स्वीकार्य नहुने चेतावनी दिए।

महासंघले कुनै पनि पेसा व्यवसायको विरोध गरेको नभई सरकारको विभेदकारी नीतिको विरोध गरेको समेत महासचिव सिटौलाले प्रष्ट्याए। सरकारले यातायात मजदूर र व्यवसायीको लागि यो वर्ष उचित व्यवस्था गर्नु पर्ने मागसमेत सिटौलाले राखे।