हाम्रो देश
१२ असार २०७९, आइतवार

काठमाडौँ उपत्यकामा आजदेखि निषेधाज्ञामा थप कडाइ गरिने

काठमाडौँ – काठमाण्डु उपत्यकामा काेराेना भाएरसकाे संक्रमण बढ्दै गएपछि सरकारले (आज) आइतबारदेखि काठमाण्डु उपत्यकासहित विभिन्न जिल्लाको आवागमनमा थप कडाइ गर्ने भएको छ। कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि उपत्यकाका ३ जिल्लामा गरिएको निषेधाज्ञालाई प्रभावकारी बनाउन थप कडाई गर्न लागिएको हाे ।

शनिबार बसेको सिसिएमसीको बैठकले आइतबारदेखि निषेधाज्ञा जारी भएका उपत्यका र ठूला सहरहरूमा बैंक तथा वित्तीय संस्थाहरूका शाखाहरूमा एक चौथाइ कर्मचारी राखी सञ्चालन गर्ने, नेपाल राष्ट्र बैंकले यसमा सहजीकरण गर्ने निर्णय गरेको छ।

अत्यावश्यक सेवाबाहेक अन्य कार्यालयहरू एक चौथाइ कर्मचारीद्वारा सञ्चालन गर्ने निर्णय गर्दै सञ्चारकर्मीको आवागमनमा पनि कडाइ गर्ने निर्णय गरेको छ। काठमाण्डु उपत्यकाको हकमा सूचना तथा प्रसारण विभागबाट र अन्य जिल्लामा प्रमुख जिल्ला अधिकारीले जारी गरेको प्रेस पासलाई मात्र मान्यता दिने निर्णय गरेको छ।

उद्योग व्यवसाय सञ्चालन तथा सार्वजनिक निर्माणका लागि कर्मचारी एवं श्रमिकलाई उद्योगभित्रै बास तथा खानाको व्यवस्था गरी उद्योग व्यवसाय सञ्चालन गर्न भनिएको छ। कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारका लागि आवश्यक सामग्री (मास्क, स्यानिटाइजर, साबुन, पञ्जा, अक्सिजन) उत्पादन गर्ने उद्योग, कलकारखाना स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्न भनिएको छ।

शनिवार काठमाण्डुका सडकमा अनुगमन गर्न निस्केको प्रमुख जिल्ला अधिकारीको टोलीले निषेधाज्ञा प्रभावकारी रहेको निष्कर्ष निकालेको छ ।