हाम्रो देश
१२ असार २०७९, आइतवार

कोभिशील्ड खोप निर्माता सिरमका सीइओलाई ज्यान मार्ने धम्की, भागेर बेलायत पुगे

काठमाडौं : भारतमा कोरोनाविरुद्ध कोभिशील्ड खोप उत्पादन गर्दै आएको कम्पनी सेरम इन्स्टिच्युटका प्रमुख कार्यकारी अधिकृत (सीइओ) अदार पुनावाला परिवारसहित बेलायत भागेका छन्। भारतमा आफूलाई ज्यान मार्ने धम्की आएपछि बेलायत भागेको उनले बताएका छन्। बेलायत गएका पुनावालाले त्यहाँको एक अखबारलाई अन्तरवार्ता दिँदै आफूलाई सुरक्षा खतरा भएकाले लण्डन आएको जानकारी दिएका हुन्।

उनलाई कोभिड भ्याक्सिन छिटोछिटो सप्लाई गर्न भन्दै भारतका शक्तिशाली व्यक्तिहरूले फोनबाट धम्क्याएको खबर नवभारत टाइम्सले लेखेको छ। सेरम इन्स्टिच्युटले भारतमा अक्सफोर्ड–एस्ट्राजेनिका खोप उत्पादन गर्दै आएको छ।

‘म यहाँ (लन्डन) निर्धारित समयभन्दा बढी बस्नेछु। म तत्काल भारत फर्कन चाहन्नँ। यो कोरोना संकट न्यूनीकरण गर्ने जिम्मेवारी मेरो काँधमा पनि छ। तर, म यो एक्लैले केही गर्न सक्दिनँ,’ उनले भनेका छन्। केही दिनअघि पुनावालामाथि सम्भावित सुरक्षा खतरालाई ध्यान दिँदै भारत सरकारले केन्द्रीय प्रहरी बलको एक टोलीलाई नै उनको सुरक्षामा खटाएको थियो।