हाम्रो देश
१५ असार २०७९, बुधवार

कोरोना संक्रमित नेपाली सेनाका जवानलाई थप उपचारका लागि काठमाडौं लगियो

दार्चुला : कोरोना संक्रमण पुष्टि भइ अक्सिजनको मात्रा कम भएपछि दार्चुलाबाट एकजना नेपाली सेनाका नायकलाई सिम्रिक एयरको हेलिकोप्टरमार्फत काठमाडौं लगिएको छ । जिल्ला अस्पताल दार्चुलामा आइसीयू नभएका कारण उनलाई काठमाडौं रेफर गरिएको हो ।

काठमाडौंमा नेपाली सेनामा कार्यरत दार्चुलाको ब्याँस गाउँपालिका घर भएका ४५ वर्षीय ती जवानको शरीरमा सामान्य अवस्थामा हुनुपर्ने अक्सिजनको मात्रा निकै कम भएपछि काठमाडौं रेफर गरिएको जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्बरदत्त भट्टले बताए।

उनका अनुसार वैशाख १५ गते जिल्ला अस्पतालमा गरिएको एन्टिजेन परीक्षणमा उनमा कोरोना पोजिटिभ देखिएको थियो।अस्पतालकै आइसोलेसनमा रहेका उनको स्वास्थ्य अवस्था दिनानुदिन बिग्रिदै गएपछि आइतबार रेफर गरिएको हो ।

उनको शरीरमा अहिले अक्सिजनको मात्रा ६२ र ६३ मात्रै रहेको छ। मानिसको शरीरमा सामान्यतया अक्सिजनको मात्रा ९५ हुनुपर्छ । दार्चुलामा हालसम्म कोरोना संक्रमितको संख्या ५२ पुगेको छ ।