हाम्रो देश
४ जेष्ठ २०७८, मङ्गलवार

चितवनमा एकै दिन २ सय ३३ जनामा कोरोना संक्रमण

चितवनमा एकै दिन २ सय ३३ जनामा कोरोना–१९ पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार पछिल्लो २४ घण्टामा ५ सय ७७ वटा स्वाब परीक्षण गर्दा २ सय ३३ जनामा कोभिड–१९ पोजिटिभ देखिएको हो । प्रतिशतका आधारमा ४० प्रतिशतमा कोरोना संक्रमण देखिएको छ । मंगलबार आएको नतिजा जिल्लामा अहिलेसम्मकै उच्च हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमण पुष्टि भएका मध्ये भरतपुर महानगरपालिकाका बढी छन् । यहाँ एकै दिन १ सय ८८ जनामा कोरोना संक्रमण देखिएको छ । रत्ननगर नगरपालिकामा २१, कालिका नगरपालिकामा ९, खैरहनी नगरपालिकामा ८, माडी नगरपालिकामा ४ र राप्ती नगरपालिकामा ३ जनालाई संक्रमण देखिएको छ । इच्छाकामना गाँउपालिकामा कुनै संक्रमित भेटिएका छैनन् ।

यो संगै चितवनमा सक्रिय संक्रमितको संखया १ हजार ४ सय ४ पुगेको छ । जसमध्ये १ हजार ३ सय १५ जना होम आइसोलेसनमा रहेका छन् । ८९ जना विभिन्न अस्पताल र संस्थाका आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा तीन जनाले ज्यान गुमाएका छन् । हालसम्म जिल्लामा कोरोना संक्रमणबाट १ सय २१ जनाको मृत्यु भएको छ । जसमध्ये भरतपुर महानगरपालिकाका ७५ जनाको ज्यान गएको छ ।

चितवन जिल्लामा संक्रमितको कूल संख्या भने ८ हजार ४ सय ५४ पुगेको छ । यस्तै जिल्लामा संक्रमणबाट मुक्त हुनेको संख्या भने ६ हजार ९ सय २० रहेको छ ।